संविधान निर्माण पहिलो प्राथमिकता ः प्रधानमन्त्री कोइराला

666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

sushil koiralaaललितपुर, २४ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले सरकारको मुख्य काम संविधान निर्माण गर्नु रहेको बताउनुभएको छ ।

गणेशमान सिंह शान्ति प्रतिष्ठान नेपाल र नेपाल कराते महासङ्घको संयुक्त आयोजनामा आज चापागाउँमा आयोजित गणेशमान सिंह जन्मशताब्दीको अवसरमा ४४ औँ राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले जनआन्दोलन २०६२÷६३ को उपलब्धिलाई संस्थागत गर्दै माघ ८ मा देशलाई संविधान दिनुको विकल्प नरेको बताउनुभयो ।

संविधान निर्माण कार्य द्रूतगतिमा अगाडि बढिसकेकाले कसैले पनि कुनै वहानामा रोक्न नसक्ने दाबी गर्दै प्रधानमन्त्री कोइरालाले अब जनताले शान्ति खलल पार्न खोज्ने जो कोहीलाई छाड्ने छैनन् भन्नुभयो ।

मुलुकमा अमनचयन, शान्ति, स्थायित्व एवम् लोकतान्त्रिक संविधानको खाँचो रहेकाले सहमतिबाट संविधान निर्माण गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । शान्ति स्थायित्व हुनसके अबको एक दशकमा मुलुकले कायापलट हुने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो ‘‘तोकिएकै समयमा आम नागरिकको हक अधिकारको सुनिश्चित गर्ने किसिमको संविधान आउनेछ ।’’

देश विकासका लागि पर्यटन एवम् जलस्रोतको सदुपयोग गर्नु अपरिहार्य रहेकाले यसका निम्ति सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा प्रधानमन्त्री कोइरालाको जोड थियो ।

उहाँले आयोजना विकास सम्झौता (पिडिए) र विद्युत व्यापार सम्झौता (पिटिए)पछि नेपालमा लगानीको वातावरण बनिसकेको बताउनुभयो ।

नेपालमा प्रशस्त पर्यटकीय सम्भावना रहेकामा यसबाट राम्रो लाभ लिन नसकिएको भएता पनि दक्षिण एसियालगायत विश्वका विभिन्न देशहरूबाट पछिल्ला समय पर्यटकको आगमन सकारात्मक भएको प्रधानमन्त्री कोइरालाको भनाइ थियो ।

खेलकुद क्षेत्रले नेपाललाई विश्वमाझ चिनाउँदै लगेको स्मरण गर्दै दक्षिण कोरियामा भएको १७ औँ साफमा नेपाललाई चिनाउन सफल खेलाडी विमला तामाङलाई शुभकामना दिनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले सर्वमान्य नेता ‘गणेशमान सिंहको संक्षिप्त चिनारी’ नामक स्मारिका विमोचन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशमा प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको पर्वाह नगर्ने लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा पार्टीले गणेशमान शान्ति अभियान यात्रा देशभरि सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

आफ्नो राजनीतिक जीवनमा सधैँ सत्यको पक्षमा लाग्ने स्व सिंहबाट धेरै कुरा सिक्न सकिने उल्लेख गर्दै उहाँले गणेशमान सिंहको सपना साकार पार्न संविधान निर्माण अपरिहार्य रहेकाले अहिले सरकार र पार्टीको ध्यान त्यसतर्फ केन्द्रीत रहेको बताउनुभयो ।

विगत केही दिनदेखि स्थगित संवैधानिक संवाद समिति र उच्चस्तरीय राजनीतिक समितिको बैठक छिटो बोलाउन पनि सम्बधित निकायलाई काँग्रेस उपसभापति पौडलेले आग्रह गर्नुभयो ।

नेपाली काङ्ग्रेसका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक आन्दोलनमार्फत देशलाई रैतीबाट मुक्त गरी नागरिक बनाउन सफल लौहपुरुष गणेशमान सिंहको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

लौहपुरुष स्व सिंहको जन्मशताब्दीको अवसरमा गरिएको ४४औँ कराते प्रतियोगिताले यसको महत्व झन् उच्च बनाएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

सो अवसरमा काँग्रेस सभासद् चन्द्र महर्जन, एमाओवादी सभासद, योगेन्द्र घिसिङ र एमालेका सभासद् सुशीला नेपाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, खेलाडी मीनकृष्ण महर्जनलगायतले शुभमकामना मन्तव्य दिनुभएको थियो ।

सो अवसरमा खेल क्षेत्रमा योगदान पुर्याउनु हुने मीनकृष्ण महर्जन र दीपक श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो ।