कसले, किन बिथोल्यो मोदीको जनकपुर भ्रमण ?

629 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अरुण बराल
५ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण विवादमा पर्नुमा सत्तापक्षका चार मन्त्री र दुईजना विपक्षी नेताहरुको भूमिका जिम्मेवार देखिएको छ ।
मोदीको भ्रमणलाई प्रभावित पार्न कुनै न कुनै भूमिका निर्वाह गर्नेमा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, अर्का उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधी जिम्मेवार देखिएका छन् ।
त्यसैगरी विपक्षी एमाओवादीका नेता रामचन्द्र झा र रामकुमार शर्माको भूमिका पनि मोदीको भ्रमण बिथोल्नमा निर्णायक देखिएको छ । स्थानीयरुपमा विमलेन्द्र निधी र रामचन्द्र झाको जुँगाको लडाइँ र राजनीतिक अन्तरविरोध कारण जनकपुरमा तनाव उत्पन्न भएको छ ।

Bamdev, Prakash, Bimalendraदुई उपप्रधानमन्त्रीको झगडामा निधीलाई च्याँखे
सार्क सम्मेलनका लागि भारतबाट सीधै जनकपुर आउने मोदीलाई सरकारका तर्फबाट कसले स्वागत गर्ने भन्नेमा सुरुमै उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमानसिंहवीच ‘इगो’को लडाइँ सुरु भयो ।
मोदीलाई लिन जनकपुरमा प्रधानमन्त्री सुशील कोइराला आफैं जानसक्ने धेरैको अनुमानविपरीत अन्ततः सरकारले जनकपुरवासी मन्त्री निधीलाई मोदीको स्वागत गर्ने जिम्मा दियो ।
दक्षिण एशियाको शक्तिशाली देश भारतका प्रधानमन्त्री मोदीलाई जनकपुरमा स्वागत गर्न प्रधानमन्त्री सुशील कोइराला आफैं जाने निर्णय गरेको भए जनकपुरमा यस्तो लफडा हुने थिएन। तर, ‘कमन सेन्स’ नभएको सरकारले यो विषयलाई असाध्यै हल्कारुपमा लियो ।sushil koirala
आफ्नै देशको पवित्र मन्दिरमा विदेशी पाहुना आएका बेला आफू पनि जाने इच्छाशक्ति प्रधानमन्त्री सुशील कोइरालाले देखाउन सकेनन् या जानेनन् । परिवारकै सदस्यहरु सल्लाहकार राखेका कारण प्रधानमन्त्रीले उचित सल्लाह पाएनन् ।
अर्कातर्फ यस्तो महत्वपूर्ण विषयमा दुई उपप्रधानमन्त्रीको संकीर्ण हानाथापका कारण अगाडि विमलेन्द्र निधी पर्दा अगाडि आए । सोझा प्रधानमन्त्रीले दुई उपप्रधानमन्त्रीमध्ये बरियतामा अगाडि रहेका र गृहमन्त्रीसमेत रहेका वामदेव गौतमलाई जिम्मा दिएको भए पनि ठिकै हुन्थ्यो । तर, कांग्रेसको चौको ‘क्रस’ गर्न नसक्ने प्रधानमन्त्रीले यस्तो ‘बोल्ड’ निर्णय लिन सकेनन् र स्थानीय सभासद निधीलाई मोदीको स्वागत गर्ने ठूलो जिम्मेवारी दिइयो ।

त्यसो त परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे पनि मोदीको भ्रमण विवादित बन्नुमा जिम्मेवार देखिएका छन् । जनकपुरमा मोदीको स्वागत गर्न प्रधानमन्त्री वा उपप्रधानमन्त्री नजाने भएपछि परराष्ट्र मन्त्रीले त्यहाँ आफू जाने निर्णय गराउन सक्नुपथ्र्यो । तर, परराष्ट्रमन्त्री पाण्डे यो मामिलामा अर्का लाचार पात्र ठहरिए ।
हास्यास्पद त के छ भने विहीबार बेलुका आफूनिकटका केही व्यक्तिलाई बोलाएर मोदीको भ्रमण रद्द भएको भन्दै विमलेन्द्र निधीको भनाइमा सही थप्ने मन्त्री पाण्डेले शुक्रबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भने कि मोदीको भ्रमण रद्द भएको वा नभएको जानकारी दिने आधिकारिक व्यक्ति म हुँ ।
उसोभए मोदीको भ्रमण रद्द भएको वा नभएको जानकारी दिने आधिकारिक व्यक्ति पाण्डे थिए भने उनले विहीबारै किन भनेनन् कि मोदीको भ्रमण रद्द भएको छैन ?
शुक्रबार बेलुका आएर परराष्ट्रमन्त्रीले गरेको मन्त्री निधीको खण्डनबाट के देखिन्छ भने मोदीको भ्रमणको श्रेय कसले लिने भन्नेमै कोइराला सरकारका मन्त्रीहरुवीच माथापच्चिसी चलिरहेको रहेछ । यसरी मन्त्रीहरुले नै बाझाबाझ गरेपछि मोदीको भ्रमण खल्बल्याउने कारकतत्वहरु कोको थिए भन्ने आफैं खुलस्त भएको छ ।