मोदी नआउने भएपनि श्रीलङ्काली राष्ट्रपति राजापाक्षको लागि सिंगारियो लुम्बिनी

768 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 अठारौँ सार्क सम्मेलनको पूर्व सन्ध्यामा लुम्बिनी भ्रमणमा आउन लाग्नुभएका श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्ष लुम्बिनीमा आउने पक्का भएपछि यहााको सुरक्षा व्यवस्थासहितको तयारी पूरा भएको छ । श्रीलङ्काली राष्ट्रपति lumbini1राजापाक्ष लुम्बिनी आउने भएपछि लुम्बिनीलाई विशेष चासोका साथ हेरिएको छ । लुम्बिनीमा सार्कका विशिष्ट पाहुनालाई स्वागत गर्न भौतिक निर्माण, सौन्दर्य र सुरक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ । पर्सि ९ गते मङ्गलबार लुम्बिनी भ्रमणका लागि आउन लागेका श्रीलङ्काली राष्ट्रपति राजापाक्षको स्वागतका लागि लुम्बिनी विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सरकारले श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिएको छ । विशिष्ट पाहुनाको स्वागतका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका सभासद्, पूर्वसभासद्, विभिन्न दलका प्रमुख, सङ्घसंस्थाका विशिष्ट व्यक्ति, सरकारी कार्यालयका प्रमुख र सञ्चारकर्मीसमेत रहेको नागरिक अभिनन्दन तथा स्वागत समिति बनाइएको छ । उनको सुरक्षाका लागि पूर्ण व्यवस्था मिलाइएको लुम्बिनी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले जानकारी दिए । राजापाक्षको भ्रमणको सुरक्षाका लागि विशिष्ट किसिमको एकीकृत सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए । स्थानीय प्रशासनले सवारी साधन, मन्दिर, मस्जिद, गुम्बालाई विशेष सुरक्षाको घेरामा राखेको जनाएको छ । प्रहरीले यस क्षेत्रको मुख्य नाका सुनौली, कालीदह, ककरहवा नाकालगायतमा तालिम प्राप्त कुकुरको सहयोगमा सुरक्षालाई कडा बनाएको छ । यस्तै, लुम्बिनीको तीन नं प्रवेशद्वार तथा केन्द्रीय नहरको उत्तरतर्फको सडक निर्माण गरी चिटिक्क पारिएको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिर अगाडिको पोखरी छेउको घाँस काटेर सफा र सुन्दर बनाइएको छ । अतिथि स्वागतगृहलाई आकर्षक रुपमा सिागारिएको छ । यस्तै कोषले लुम्बिनीमा विशिष्ट पाहुनाको हेलिकप्टर अवतरण गर्न सुरक्षा निकायको अनुरोधमा तीन हेलिप्याड निर्माण गरिएका छन् । हेलिप्याडबाट मायादेवी मन्दिरसम्म पुग्ने सडक मर्मत गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए । सवारी पार्किङस्थल सम्याएर व्यवस्थित बनाइएको छ । लुम्बिनीलाई आकर्षक बनाउनका लागि झन्डै रु एक करोड ५० लाख खर्चिइएको छ । लुम्बिनी भ्रमणमा रहँदा श्रीलङ्काली राष्ट्रपति राजापाक्षले श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, लुम्बिनी बौद्ध विश्वविद्यालय, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुल र सडकको उद्घाटन गर्नुका साथै मायादेवी मन्दिरस्थित श्रीलङ्काली विहारमा विशेष पूजा गर्ने कार्यक्रम पनि रहेको उल्लेख गरिएको छ । यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी भ्रमणमा आउने भनिएता पनि उनको हिजो अर्थात शनिबार लुम्बिनीलगायत सबै धार्मिक भ्रमण रद्द भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।