ब्रुसबाङका चेपाङ वालवालिका पढ्न पाउंदैनन

612 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC09578
केशव अधिकारी
ब्रुसबाङ(धादिङ) / सुनमाया चेपाङको उमेर  १२ बर्ष भयो । उनले अहिले सम्म अक्षर चिनेकी छैनन । उनलाई लेख्न पढ्न मन लाग्छ तर त्यो अवसर उनले पाउन सकेकी छैनन । त्यसोत ब्रुसबाङमा लेखपढ गर्न नसक्ने सुनमाया एक्ली भने होइनन । गाउंमा बिद्यालय जाने उमेरका ४५ जना वालवालिका छन तर कसैले पनि पढ्न पाएका छैनन ।
धादिङ जिल्लाको दक्षिणी भेगको अति विकटमा पर्ने महादेवस्थान गाविस वडा नम्बर ३ मा पर्ने ब्रुसबाङ गाउंका कसैले पनि लेखपढ गर्न जान्दैनन । बस्तिवाट सबैभन्दा नजिक रहेको प्राथमिक तहको पढाई हुने बिद्यालय पुग्न लगातार तीनघण्टा भिरको वाटो हिंडनुपर्दछ । गाउं नजिकै बिद्यालय नभएकै कारण पढ्न नपाएको भएपनि उनिहरुलाई लेखपढ गराउन अहिले सम्म कसैले चासो समेत देखाएका छैनन । ब्रुसबाङमा २५  परिवार चेपाङहरु बस्दै आईरहेका छन । एउटै वडा भएपनि ब्रुसबाङबाट चोतेस गाउं पुग्न एक तर्फि तीन घण्टा भिरको वाटो भएर ओरालो हिंडनुपर्ने भएपछि वालवालिकालाई पढ्न पठाउन नसकिएको पुर्णवहादुर चेपाङले वताए । भिरको वाटो भएर साना वालवालिकालाई पढ्न पठाउन सकिंदैन गाउंमै बिद्यालय खुलेदेखि सबैघरका उमेर पुगेका बच्चालाई अनिवार्य पढाउने ब्रुसबाङ सामुदायिक संस्थाका अध्यक्ष समेत रहेका पुर्णबहादुर बताउंछन ।
विकटको बस्ति भएका कारण यहां बर्षको ९ महिना खानेकुराको अभाव हुने गर्दछ । खानेकुरासंगै गाउंमा खानेपानीको पनि त्यत्तिकै दुःख छ । खानेकुरा र पानीको दुःखमा अल्झिएका ब्रुसबाङबासीलाई शिक्षा,स्वास्थ्य जस्ता आधारभुत अधिकारको वारेमा त्यति चासो समेत छैन । गाउंमा बिद्यालय भईदिए आफ्ना छोराछोरी पढ्न पठाउन आंफुहरु तयार रहेको ब्रुसबाङका अगुवा टेकवहादुर चेपाङ बताउंछन ।
शैक्षिकसत्र २०७० को सुरुवातसँगै जिल्लाभरिका शिक्षक र शिक्षा कार्यालयसँग सम्बन्धित श्रोत व्यक्ति, विद्यालय निरीक्षक लगायतका सरोकारवाला निकाय र व्यक्तिहरू विद्यालय भर्ना अभियानमा जुटेका छन् । पहिलो चरणको अभियान वैशाख १४ गतेसम्म र दोश्रो चरणको अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुने भएपनि ब्रुसबाङका चेपाङवालवालिकाले भने यो बर्ष पनि पढ्न नपाउने निश्चित भएको छ । जिल्ला शिक्षा कार्यालय धादिङले ब्रुसबाङका वालवािलकालाई लक्षित गरेर कार्यक्रम ल्याउन नसकेका कारण चेपाङ वालवालिकाले पढन नपाएका हुन । गाउंमै बिद्यालय स्थापना गरिदिन ब्रुसबाङवासीले पटक पटक आग्रह गरेपनि जिल्ला शिक्षा कार्यालयले कहिल्यै चासो नदिएका कारण सिङगो बस्तिका वासिन्दा निरक्षर हुन पुगेको टेकवहादुरले वताए । अरुको घरमा ज्याला मजदुरी गर्न जांदा अक्षर चिनेका ७४ बर्षिय टेकवहादुर ब्रुसबाङका एक्ला साक्षर हुन ।
२०६८ को राष्ट्रिय जनगणनाअनुसार धादिङ जिल्लाभरिमा उमेर पुगेर पनि विद्यालय नजाने बालबालिकाको सङख्या चार हजार ५ सय १६ जना रहेकोमा यस वर्ष सत्प्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गराउने उद्धेश्यका साथ अभियानको थालनी गरिएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्रराज सुवेदीले दावी गरेपनि ब्रुसबाङमा भर्ना  अभियानले कुनै प्रभाव नपार्ने देखिएको छ ।
शिक्षा कार्यालयले ब्रुसबाङलाई लक्षित गरेर पुर्व प्राथमिक बिद्यालय ( वाल विकास केन्द्र) स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएको एक वर्ष बितिसक्दा पनि निर्णय कार्यान्वयन हुन नसक्दा यो बर्ष पनि ब्रुसबाङमा भर्ना अभियानले कुनै प्रभाव नपार्ने संचारकर्मी उद्धव चेपाङ वताउंछन ।
सुरुमा विद्यालय भर्ना भए पनि बीचमा विद्यालय जान छाड्ने वालवालिकालाई लक्षित गरेर सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियानका नाममा घरदैलो कार्यक्रम सञ्चालन गरी शिक्षाको महत्वबारे अभिभावकहरूलाई जानकारी गराउने कार्यक्रम तय गरेको भएपनि यो अभियान प्रचारमुखी मात्र हुने उद्धवले बताए ।
विद्यालयहरुको स्थलगत अवलोकन गरी बालमैत्री कक्षा कोठाहरू निर्माण गरिएको र शिक्षक श्रोेत व्यक्तितका अतिरिक्त यस वर्ष गैरसरकारी सङघसंस्था, राजनीतिक दल, नागरिक समाजका अगुवाहरूबाट समेत भर्ना अभियानमा सार्थक सहयोग प्राप्त हुने जिल्ला शिक्षा अधिकारी सुवेदी बताउंछन । शिक्षा कार्यालयले विगत वर्षको तुलनामा यस वर्ष भर्ना अभियान कार्यक्रम प्रभावकारी हुने दाबी गरेपनि ब्रुसवाङका चेपाङ वालवालिकाको  पढ्ने रहर भने पुरा नहुने भएको छ । विकटको बस्ति, गाउं नजिकै लेखपढ गर्न सक्ने व्यक्ति नभेटिनु, बिद्यार्थीको संख्याको अभाव लगायतका कारणले ब्रुसबाङमै पुर्व प्राथमिक  बिद्यालय स्थापना गर्ने योजना कार्यान्वयन हुन नसकेको शिक्षा कार्यालयको दावी छ ।