हेलो सरकारको फेसबुक पेज , अब फेसबुकबाटै गुनासो

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौँ, – तपाई फेसबुक चलाउनुहुन्छ भने  केही  खुसीको खबर आएको छ । जनताका गुनासो सुनेर तत्काल कार्यान्वयनका लागि सम्वन्धित निकायलाई परिचानल गर्दै आएको सरकारको प्रभावकारी कार्यक्रम हेलो सरकारले अव फेसबुक मार्फत पनि जनगुनासो संकलन गर्ने भएको छ । तपाई दुर दराजमा रहेपनि फेसबुकमा हुनुहुन्छ भने समाजमा सुधार गर्नु पर्ने कुनै पनि काममा अव तपाई तत्काल सहभागी बन्न सक्नुहुनेछ ।

 facebookजनताका गुनासा सुन्नका लागि स्थापित हेलो सरकार कक्षले फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव लीलामणि पौड्यालले सो पेजको औपचारिक सुरुआत गर्नुभयो ।

नागरिकले सरकारी सेवा तथा विभिन्न जनसरोकारका गुनासालाई फेसबुक पेजमार्फत पनि हेलो सरकारमा पठाउन सक्नेछन् । नागरिकले www. facebook.com/hellosarkar.np  पेजमा गएर आफ्ना गुनासा तथा सुझाव दिन सक्नेछन् । सो पेजमा गएर गुनासाकर्ताले सुझाव दिने तथा आफ्ना गुनासा राख्न सक्ने मुख्यसचिव पौड्यालको भनाइ छ ।

हेलो सरकारलाई थप विस्तार गरिएको र नागरिकको सहज पहुँचमा पुग्ने प्रयास गरिएको बताइएको छ । गुनासोकर्ताले कुन सरकारी कार्यालयसँगको सम्बन्धित गुनासो हो भन्ने खुलाएमा छिटो सम्बोधन गर्नका लागि सहज हुने छ । जनताले सेवा लिँदा भोगेका समस्या सम्बोधन गर्न सो व्यवस्था गरिएकाले नीतिगतभन्दा कुन काम÷सेवा÷कार्यालय वा व्यक्तिसँग गुनासो हो सोको स्पष्ट जानकारी गराउन आग्रह गरिएको छ ।

सामाजिक सञ्जाल विस्तारसँगै व्यक्ति व्यक्तिबीच सम्बन्ध विस्तार भएको र यसको उपयोग गरी कार्यालय कार्यालयबीच समस्या समाधान गर्न सकिने र सरकार तथा जनताबीचको विश्वास बढाउन मद्दत पुग्ने उद्देश्यले सो पेज सञ्चालन ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो ।

फेसबुकमा धेरैको पहुँच पुगेको, सरकारका धेरै कार्यालयमा इन्टरनेट पुगेको, सामाजिक सञ्जालद्वारा कार्यालयबीच नेटवर्किङ गर्न सजिलो हुने उद्देश्यले नयाँ प्रविधि सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि हेलो सरकारले ११११ निःशुल्क टेलिफोन नं, एसएमएसलगायतमार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको थियो ।