हिंसा न्यूनिकरणका लागि किशोर किशोरीहरुको प्रतिवद्धता

718 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सल्यानटार,sahayaatrai foolkharka copyफागुन ५-किशोर किशोरीहरुलाई यौन तथा प्रजनन अधिकारका बारेमा जानकारी दिने, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेत बनाउने र शारीरिक, मनोबैज्ञानिक परिवर्तन र आइपर्ने समस्या समाधान गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले सल्यानटार गाविसमा हिजो देखि शुरु भएको दुई दिने तालिम आज सम्पन्न भएको छ । सल्यानटार गाविस वडा नम्बर ७ माझिगाउँमा भएको कार्यक्रममा सल्याटार गाविस भित्रका दुई वटा माध्यमिक विद्यालय र तिन वटा निम्न माध्यमिक विद्यालयका ३० जना किशोर किशोरीको सहभागिता रहेको थियो । कार्यक्रममा लैगिंक हिंसा, हिंसाको कारण असर र कानुनी व्यवस्था, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा प्राथमिक स्वास्थ्य चौकी सल्यानटारका रुपा अधिकारी र जीवन जीउने कलाको बारेमा सहयात्री समाज नेपालका कार्यक्रम व्यवस्थापक रमेश अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
साथै कार्यक्रममा भुकम्प पछि किशोर किशोरीहरुमा आइपरेका समस्याहरुका बारेमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरुले भुकम्पका कारण नियमित विद्यालय जान नपाएको, घर भत्किएको कारण पढ्न समस्या भएको, धेरै जना एकै ठाउँमा बस्नु परेकोले किशोरीहरुलाई महिनावारी हुँदा बस्न गार्हो भएको बताएका थिए । कार्यक्रममा आज आगामी एक वर्ष भित्रमा गर्ने कार्यक्रमहरुको कार्ययोजना समेत बनाइएको छ । जसमा हिंसा विरुद्धका अभियानहरु सञ्चालन गर्ने, सडक नाटक, गीत,¥याली लगायताका सचेतनाका कार्यक्रम गर्ने योजना बनाइएको छ ।
कार्यक्रममा सहभागी किशोर किशोरीहरु मध्य राम बहादुर कुमाल र सम्झना कटुवालले भुकम्पका कारण अहिले सम्म पनि डर लाग्ने, तर्सिने, नराम्रो सपना देख्ने भइरेकोमा यस्तो कार्यक्रममले आत्मविश्वास बढाएको बताएका थिए । साथै अरु साथीहरुलाई पनि विपद पछि आत्तिन र डराउन नहुने, हिंसाका घटना भएको थाहा पाएमा पनि प्रहरीमा सुचना दिने र हिंसा विरुद्ध आवाज उठाउने कुरामा प्रतिबद्धता व्यक्त गरेका थिए । युएसएडको आर्थिक सहयोग तथा केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालद्धारा सञ्चालित हरियो बन कार्यक्रम अन्र्तगत तालिमको आयोजना गरिएको हो ।