चितवनको होटलमा युवती हत्या गरेर फरार युवक धादिङबेसीबाट पक्राउ

403 पटक पढिएको

सम्पादक: Dhading News

Hembd-Thapa-800x436धादिङबेसी- चितवनमा होटलभित्रै युवतीको हत्या अभियोगमा एक युवकलाई धादिङको सदरमुकाम धादिङबेसीबाट पक्राउ गरेको छ ।  नारायणगढ बसपार्कमा रहेको होटल कलशमा गत आइतबार भरतपुर–१६ मंगलपुरकी २७ वर्षकी रीता भूजेलको हत्या अभियोगमा प्रहरीले धादिङ गुम्दी गाविस वडा नं. ९ बस्ने २६ वर्षका हेमबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार धादिङबेंसीस्थित अधिकारी गेष्ट हाउसबाट अभियुक्त थापालाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त थापालाई बुधवार चितवन जिल्ला अदालतमा म्याद थप गराएर प्रहरीले सार्वजनिक गरेको छ ।
‘रीता भुजेलको हत्या हेमबहादुरले नै गरेका पुष्टि भएको छ’ चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले भने, ‘स्वयम् हेमबहादुरले सलले घाँटी कसेर हत्या गरेको स्वीकार गरेका छन् ।’ उनलाई प्रहरीले मोबाइल ट्¥याकिङका आधारमा पक्राउ गरेको हो । हेमबहादुर होटलको कोठाभित्रै युवतीको हत्या गरी आइतबार बेलुकीदेखि फरार रहेका थिए ।
‘उनकै आफन्तको सहयोगमा पक्राउ गर्न सफल भइएको हो’ प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले भने, ‘चितवनबाट खटिएको प्रहरी टोलीले धादिङ पुगेर उनलाई पक्राउ गरी ल्याइएको हो ।’
हत्याको कारण आर्थिक लेनदेन
असार २५ गते हेमबहादुर चितवन आएका थिए । उनले त्यही दिन कलश होटलको २०१ नम्बर कोठा बुक गरे । असार २६ गते रीतालाई फोन गरेर त्यही बुक गरेको कोठामा ल्याए । विगत तीन महिनादेखि उनीहरुबीच प्रेम सम्बन्ध थियो । तीन महिनाको अवधिमा विभिन्न समयमा होटलमै बसेका उनीहरुबीच यौन सम्बन्ध पनि रहँदै आएको प्रहरीको भनाइ छ ।
जापानी भाषा पढेर जापान जाने भन्दै हेमबहादुरसँग रीताले प्रेम सम्बन्धपछि डेढ लाख रुपैयाँ लिएकी थिइन् । होटलमा बस्दा हेमबहादुरले त्यो पैसा मागेपछि उनीहरुबीच विवाद र भनाभन भएको प्रहरीको भनाइ छ । प्रहरी उपरिक्षक कुँवरले भने, ‘हेमबहादुरले रीतालाई दिएको डेढ लाख फिर्ता माग्दा उनीहरुमा विवाद भएको रहेछ । लेनदेनका विषयमा विवाद भएपछि सलले घाँटी कसेर हत्या गरेको देखिन्छ । आइतबार दिउँसो ३ः३० बजे रीताको हत्या भएको प्रहरीको भनाइ छ ।
प्रहरीले हेमबहादुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष म्याद थप गराएको छ । मुलुकी ऐन ज्यान सम्बन्धी मुद्दाअन्तर्गत कर्तव्य ज्यान मुद्दामा उनलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मुख छोपेर नचिनिने भएका हेमबहादुर पत्रकार सम्मेलनमा सार्वजनिक हुँदा उनी केही बोलेनन् । प्रहरी प्रमुख कुँवरले पत्रकारहरुसँग भनेका कुराहरुको उनले मुन्टो हल्लाएर मात्रै सहमति जनाएका थिए । हत्या गर्नुअघि विवादको क्रममा रीताबाट विष सेवन भएकोे हेमवहादुरको भनाइ छ । तीन महिनाअघि हेमबहादुर रोजगारीको सिलसिलामा कतारमा बस्दा रीतासँग मोबाइलमा बोल्न मिल्ने ‘इमो’मार्फत चिनजान भएको थियो ।