५० % भूकम्प प्रभावितले पाए पहिलो किस्ता

774 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

a940ea5f3c7ae1413dc4b00a1cc27d38

घर निर्माण गरिंदै । फाइल फोटो

काठमाडौं : भूकम्पपछिको निजी घर निर्माणका लागि भूकम्प प्रभावितमध्ये ५० प्रतिशतले बल्ल पहिलो किस्ताको अनुदान रकम पाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी २ असोजभित्र शत प्रतिशतलाई पहिलो किस्ताको रकम वितरण गर्ने लक्ष्य राखेकोमा दुई हप्ता मात्र बाँकी रहँदा २ लाख ७० हजार प्रभावितले पहिलो किस्ताको रकम पाएका हुन् ।

भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा ५ लाख ३३ हजार भूकम्प प्रभावितलाई अनुदान दिनुपर्ने भए पनि हालसम्म ४ लाख ११ हजार प्रभावितसँग मात्र अनुदान सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

अब १ लाख २२ हजारसँग अनुदान सम्झौता र २ लाख ३३ हजारलाई पहिलो किस्ताको रकम वितरण गर्न बाँकी छ ।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुने बित्तिक्कै ४५ दिनभित्र सबै भूकम्प प्रभावितलाई पहिलो किस्ताको अनुदान वितरण गर्न निर्देशन दिएपछि ३१ साउनदेखि पुनर्निर्माण प्राधिकरणले एक महिने विशेष अभियानसमेत सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत विस्तृत घरधुरी सर्भेक्षण सम्पन्न भएका गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, धादिङ, नुवाकोट, रसुवा र मकवानपुर जिल्लाका भूकम्प प्रभावितलाई अनुदान दिने कार्य दु्रत गतिमा अघि बढेको प्राधिकरणले जनाएको छ ।

भूकम्प प्रभावितको निजी घर निर्माणका लागि २ लाख अनुदान दिने निर्णय गरेको सरकारले पहिलो किस्तामा ५० हजार, दोस्रो र तेस्रोमा ७० र ८० हजार दिन लागेको छ । हालसम्म दोस्रो किस्ताको रकम कसैले पाएका छैनन् ।

पहिलो किस्ता पाएका करिब ५ हजार प्रभावितले निजी घर निर्माण सुरु गरिसकेको प्राधिकरणले जनाएको छ । तर अनुदान पाएर एक जना प्रभावितले पनि नयाँ घर बनाएका छैनन् कारोवार डेली डट कमले खबर लेखेको छ ।