रेडियो भत्काइएकोमा चौतर्फी विरोध

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14441179_1140938545996134_2649997049345458304_nआश्विन ७, २०७३- सामुदायिक रेडियो धादिङ र हिंसापीडित महिलाहरुको आश्रयस्थल ‘स्नेह हाउस’ भत्काइएकोमा सदरमुकाममा विरोध जनाइएको छ ।

शुक्रबार बिहान करिब ४ बजे जिल्ला वन कार्यालयले छापामार शैलीमा डोजर लगाई भवन, टहरा भत्काएको विरोधमा सञ्चारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा र विभिन्न पेशागत संघ संगठनहरुले विरोध जनाएका हुन् ।

नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, मानव अधिकार एलायन्स, रेडियो धादिङ लगायतले विज्ञप्ति निकालेर भत्र्सना गरेका छन् । सञ्चालक संस्था सहयात्री समाजले स्नेह हाउसमा राति असहाय र सुत्केरी महिलाहरुमा हातपात गरेकोले भत्काउन आएका जिल्ला वन कार्यालय प्रमुख ईमानाथ पौडेल, जनपद र सशस्त्र प्रहरी नायब उपरीक्षक लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगमा उजुरी गरिएको छ ।

दक्षिण एसियाली देशहरुमा सञ्चालित सामुदायिक रेडियोहरुको छाता संगठन (अमार्क)का सहअध्यक्ष मीनबहादुर शाहीले भने– ‘समुदायले सञ्चालन गरेको रेडियो लगायत अशक्त र अपाङ्ग महिलाहरुमाथि गरिएको अमानवीय कार्य भएकोले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार कारबाहीको माग गर्दै उजुरी गरेका छौं ।’ तत्काल राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गर्ने उनको विश्वास छ ।

धादिङका विभिन्न संघ संगठनहरुले रेडियो भवनमा पसेर उपकरणसमेत झिक्न नदिई तोडफोड गरी डोजर चलाईएकोमा विरोध जनाए । कालो व्यानरसहित पुछारबजारबाट हातमा कालोपट्टी बाँधेर जुलुस प्रदर्शन गरेका छन् । उनीहरुले सूचनाको हकको सुनिश्चितता गर, हिंसापीडित महिलाहरुको अधिकारको ग्यारेन्टी गर जस्ता नारा लगाई सिरान बजारसम्म प्रदर्शन गरे ।