गाविसका पूर्व अध्यक्ष माछा पालनमा

708 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ,  – धादिङमा व्यवसायिक माछापान गर्ने किसानहरुको संख्या बढ्दै गएको छ ।

chaiarman-machha-palanmaबजारमा माछाको माग बढेसँगै माछापालन तर्फ किसानको आकर्षण बढ्दै गएको हो । माछापालनबाट राम्रो आम्दानी हुनु भएपछि राजनीतिक दलका स्थानीय नेताकार्यकर्ता तथा व्यापारीसमेत माछापालनका लागि लगानी बढाउन अग्रसर भएका छन् ।

यस्तै मध्ये एक हुनुहुन्छ धादिङको किराञ्चोक गाविसका  पूर्व अध्यक्ष योवराज बराल । उहाँले व्यवसायिक माछापालन गर्नु भएको छ । सामाजिक कामबाट फुर्सद भएपछि बराल माछाको आहार व्यवस्थापन र हेरचाहमा लाग्नु हुन्छ । २०४९ र २०५४ मा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट किराञ्चोक गाविसको अध्यक्षमा निर्वाचित हुनु भएका बराल एक  वर्षदेखि व्यवसायिक माछा पालनमा लाग्नु भएको हो ।

तीन बर्ष अघि   किराञ्चोक कृषि सहकारी संस्था लिमिटेडले व्यवसायिक कृषि विकासमा लगानी अभिवृद्धि गर्न र गाविसको बजेट कृषि क्षेत्र विकासमा खर्च गर्न अभिप्रेरित गर्ने उद्देश्यले गाविसका अगुवाहरुलाई ५ दिने व्यवसायिक कृषि विकास क्षेत्र तथा फार्मको भ्रमण गराएको थियो । भ्रमणमा सहभागी हुनुभएका बरालले भ्रमणको समिक्षा तथा समापन कार्यक्रममा माछा पालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले त्यसलगतै वर्षको २ बाली धान फल्ने ६ रोपनी खेतमा ३ वटा पोखरी बनाएर माछा पालन व्यावसाय शुरु गरेको बताउनुभयो ।

बरालले नैनी, सिल्भर कार्प र ग्रास कार्प जातका १३ हजार माछाका भुरा राखेर पहिलो पटक किराञ्चोकमा व्यावसायिक माछापाल शुरु गर्नुभएको किराञ्चोक कृषि सहकारी संस्थाका पूर्व अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । पोखरीमा राखिएका माछा हुर्काउन र बिक्रीगर्न सके वर्षको ५ लाख भन्दाबढी आम्दानी हुने बरालको भनाई छ । तीन बर्ष अघिसम्म दुई वाली धान बिक्रीबाट वर्षको ७० हजार आउँथ्यो । तर माछा बिक्री पश्चात खर्च कटाएर बर्षको  सालाखाला  दुई लाख मुनाफा भएको बरालले बताउनुभयो ।

राजनीतिक क्षेत्रमा सक्रिय भएरपनि माछापालनमा बरालको उत्साह देखेर  जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोग र पोखरी खन्न प्रतिरोपनी १० हजारका दरले ६० हजार अनुदान समेत दिएको छ । धानखेतीका लागि जिल्लामै सबैभन्दा उपयुक्त मानिएको किराञ्चोक गाविसको फांटहरुमा व्यवसायिक माछापालनको प्रशस्त सम्भावना रहेको बरालले बताउनुभयो । उत्पादित माछाको लागि बजारको समस्या नभएकाले व्यवसायिक माछापाललाई निरन्तरता दिने बरालले बताउनुभयो ।

बजारको समस्या नभएकाले धादिङमा राजमार्गका छेउछाउ, सदरमुकाम आसपास र ग्रामीण भेगहरुमा समेत व्यवसायिक माछापालन फस्टाउन थालेको छ । सानो आकारमा माछापालन गर्ने किसानको संख्या धादिङमा धेरै भएपनि एक रोपनी भन्दा बढी जग्गामा व्यवसायिक रुपमा माछापालन गरिरहेका किसानको संख्या अहिले २० पुगेको जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थी बताउनुहुन्छ । कार्यालयले माछापालनका लागि उपयुक्त देखिएको स्थानमा पोखरी बनाएर आउने किसानलाई प्रतिरोपनी १० हजार रुपैयाँका दरले अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ ।