बुधबारदेखि निर्वाचन आचारसंहिता लागू

1102 पटक पढिएको

१९ फाल्गुन २०७३, बिहीबार ०५:३० सम्पादक: धादिङ न्यूज

 

nirbachan-ayog.jpgकाठमाडौं – निर्वाचन आयोगले बुधबारदेखि लागू हुनेगरी निर्वाचन तथा स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको छ । मंगलबार बसेको आयोगको बैठकले निर्वाचन आयोग ऐनअनुसार आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आगामी ३१ वैशाख ०७३ लाई तोकिएको स्थानीय तहको निर्वाचनका लागि नेपाल सरकार, मन्त्री, स्थानीय निकाय÷तह, सबै सार्वजनिक पद धारण गरेका कर्मचारीहरूलाई लागू हुने आयोगले जनाएको छ ।

बुधबारदेखि आचारसंहिता लागू हुने निकायहरूमा नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी रहेका छन् ।

त्यसैगरी सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि बुधबारदेखि नै आचारसंहिता लागू भएको छ ।
आयोगले मंगलबार नै स्थानीय तहको निर्वाचनका उम्मेदवारका लागि पनि आचारसंहिता जारी गरेको छ ।

तर, उम्मेदवारलाई भने यो आचारसंहिता आगामी १६ वैशाखदेखि मात्रै लागू हुने आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता नमान्ने नेता, कर्मचारी तथा स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारलाई कारबाही गर्ने जनाएको छ ।