अस्पतालका १० कर्मचारी एकै पटक गोष्ठीमा

709 पटक पढिएको

सम्पादक: Dhading News

????????????????????????????????????

धादिङ । जिल्लाकै एक मात्र सरकारी अस्पतालको रुपमा रहेको धादिङ अस्पतालका विभागीय प्रमुख र विशेषज्ञ स्वास्थ्यकर्मीसहित १० जना कर्मचारी एकै पटक जिल्ला बाहिर गएपछि अस्पतालको सेवा प्रभावित हुन पुगेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट, आकस्मिक विभाग प्रमुख, ल्याब टेक्निसियन, नर्सिङ इन्चार्जलगायत विभागका प्रमुखहरुले जुनियर कर्मचारीहरुलाई काम जिम्मा लगाएर गोष्ठीमा सहभागी हुन जिल्ला बाहिर गएका हुन् ।
निक साइन्स इन्ष्टिच्युटले आयोजना गरेको तीन दिने गोष्ठीमा सहभागी हुन जिल्ला अस्पताल धादिङका मेडिकल सुररिटेण्डेन्टसहित १० जनाको टोली सोमबारदेखि रसुवाको सदरमुकाम धुन्चे पुगेका छन् । सिनियरहरु सबै गोष्ठीमा सहभागी हुन जिल्ला बाहिर रहेपछि जिल्ला अस्पताल धादिङ अहिले ओजीटी र परीक्षणमा रहेका स्वास्थ्यकर्र्मीको जिम्मामा सञ्चालित छ । अस्पताल प्रशासनसमेत खाली हुन पुगेको छ ।
गोष्ठीमा सहभागी भएकाहरुले भने आफूहरु अस्पतालको सेवा प्रभावित पार्ने गरी नहिडेको, नेपाल सरकारकै नियमित कार्यक्रमअन्तर्गत अस्पताल व्यवस्थापन सुदृढीकरण गोष्ठीमा सहभागी भएको प्रतिक्रिया दिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ र अस्पताल विकास समितिका पदाधिकारीहरु पनि सोही गोष्ठीमा सहभागी छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रसिला अमात्यसहित डा ईश्वर पौडेल, डा अर्जुन श्रेष्ठ, आकस्मिक विभाग प्रमुख शिव राना पनि गोष्ठीमा सहभागी भएका छन् । त्यस्तै ल्याब टेक्निसियन शान्ता महत, नर्सिङ इन्चार्जहरु विष्णुमाया रिजाल, उमा पाठक, रेडियो ग्राफर ठाकुर लम्साल, प्रशासन शाखाका रविनकुमार श्रेष्ठ, फार्मेसीका राजु लोप्पा पनि गोष्ठीमा गएका छन् ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रका जिम्मेवार कर्मचारी र विशेषज्ञ स्वास्थ्यकर्मी जिल्ला बाहिर रहँदा जिल्लामा भैपरी आउने दुर्घटनाहरु थेग्न सक्ने अवस्था छैन । गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप भए पनि बिरामीलाई उपलब्ध गराउनुपर्ने सेवाको वास्तै नगरी प्रमुखहरु बाहिर रहेकाले उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका छन् ।

-पाविलन्यूजबाट