कच्चा पदार्थ अभावमा नेपाली कागज उद्योग संकटमा

1207 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2074-7-30 nepali kagaj (1)राजेन्द्र बस्नेत
विशालनगर (धादिङ), – नेपालीहरुको आधिकारिक कागज नेपाली कागज उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अभावमा नेपाली कागज उद्योग संकटमा परेको छ । पछिल्लो समय लोक्ताको उत्पादन घटेकाले चाहेजति कच्चा पदार्थ जम्मा गर्न नसक्दा उद्योग सञ्चालनमा संकट आएको सानुकाजी श्रेष्ठले बताए । सरकारी तवरबाट लोक्ता उत्पादन र नेपाली कागज उद्योग सञ्चालनमा उदाशिन हुदाँ धादिङ जिल्लाको एक मात्र नेपाली कागज उद्य्योग समस्यामा परेको श्रेष्ठ बताए ।
सरकारले कच्चा पदार्थ (लोक्ता) उत्पादन र उद्योग सञ्चालनमा सहयोग गर्ने हो भने नेपाली कागज सरकारी तथा गैरसरकारी कामकाजमा प्रयोग गर्न सकिने उनको दावी छ । नेपाली कागजमा लेखिएका अक्षरहरु लामो समयसम्म नमेटिने भएकाले सरकारी कामकाजमा अनिवार्य रुपमा नेपाली कागज प्रयोग गर्नु पर्ने श्रेष्ठको सुझाव छ । नेपाली कागजको कच्चा पर्दाथ लोक्ता धादिङ जिल्लाकोे वसेरी, गुम्दी, रिगाँउ, तिप्लिङ, सेर्तुङ, दार्खा र गोरखाको थुमी, लापु, बारपाक, केरुङ्जा, कासीगाँउका जंगलमा पाइन्छ । त्यहाँका स्थानीयहरुले लोक्ता विक्री गर्न ल्याउछन् । तर हरेक वर्ष लोक्ताको उत्पादन घट्दै गएकोले नेपाली कागजको उत्पादन पनि घटेकोे श्रेष्ठले बताए ।
२०४१ सालबाट गोरखा आरुचनौटेमा मनास्लु कागज उद्योग सञ्चालन शुरु गरेका श्रेष्ठ अहिले धादिङको त्रिपुरा सुन्दरी गाँउपालिका १ विशालनगरमा श्रेष्ठ नेपाली कागज उद्योग सञ्चालन गर्दै आएकाछन् । २०५२ साल फागुन ७ गते मनास्लु कागज उद्योगमा तत्कालिन माओवादीले क्षति पु¥याएपछि श्रेष्ठ धादिङको विशालनगरमा आएर नेपाली कागज उद्योग सञ्चालनलाई निरन्तरता दिएका हुन । उद्योगमा १८ जना कर्मचारी कार्यरत छन् । कर्मचारीको तलवमा मात्र वार्षिक २९ लाख खर्च हुने र लोक्ता खरिदमा ३० लाख खर्च हुने श्रेष्ठले बताए । दुई सय पिस (एक कोरी) कागज उत्पदान गर्न १ हजार ५ सय लगानी हुने र एक हजार ७ सयमा विक्री गरिन्छ । वार्षिक उत्पादन पाँच हजार ५ सय कोरी कागज उत्पादन हुने र विक्रीबाट ९० लाख आम्दानी हुन्छ सवै खर्च कटाएर १० लाख मुनाफा हुने श्रेष्ठले बताए । नेपाली कागज काठमाण्डौ, विरगञ्ज, नारायणघाट लगायतका शहरमा पठाउदै आएकाछन् । विद्युतिय उपकरण (कम्प्युटर) प्रयोगमा आउनु अघिसम्म सरकारी र घरायसी कामकाजका लागि नेपाली काजग नै प्रयोग गरिन्थ्यो । अहिले कम्प्युटरबाट प्रिन्ट गर्ने नाममा नेपाली काजगको प्रयोग गर्न छोडिएकोमा नेपाली कागज उत्पादक श्रेष्ठ असन्तुष्ट छन् ।