धादिङ–पोखरा सम्पर्क समितिको रक्तदानमा ७३ यूनिट संकलन

512 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रञ्जन अधिकारी
पोखरा /धादिङ–पोखरा सम्पर्क समितिले आफ्नो वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा आयोजना गरेको १० औं रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति रामप्रसाद ज्ञवालीले पोखरामा क्रियाशील जिल्ला सम्पर्क समितिमध्ये अग्रणी संस्थाका रुपमा रहेको धादिङ–पोखरा सम्पर्क समितिले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सबैभन्दा बढि रक्त अभाव हुने यो सिजनमा बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गर्दा अस्पतालको बेडमा छट्पटाइरहेका बिरामीहरूलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सभापति ज्ञवालीले रगतको चर्चा भएजस्तो अनुसन्धान हुन नसकेको भन्दै रगत दिंदा फरक नपर्ने तर रगत नपाउँदा ठूलो समस्या आउने बताउनुभयो । ‘रगत जहिल्यै पनि निःशुल्क पाइने तर रगतको संरक्षण र भण्डारणको शुल्कमात्र लिइएको हो ।’ ज्ञवालीले भन्नुभयो ‘पोखरामा ‘ओ’ पोजेटिभ रगतको अभाव छ ।’ ज्ञवालीले सम्पूर्ण १८ वर्ष पुगेका व्यक्तिलाई रक्तदान गर्न आग्रह गर्ने नारा अघि सार्ने तयारी भैरहेको जानकारी दिँदै काठमाडौं पछिको सुविधा सम्पन्न रक्तसंचार केन्द्र पोखरामामात्र रहेको बताउनुभयो ।

अन्तरसमाज महासंघ राष्ट्रिय समितिका अध्यक्ष नीलकण्ठ शर्माले धादिङ पोखरा सम्पर्क समितिले सामाजिक क्षेत्रमा गरेको कामलाई जति प्रशंसा गरेपनि नपुग्ने बताउनुभयो ।

समितिका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, समितिका वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, कार्यक्रम संयोजक वीरबहादुर थापा, धादिङ सहयोग संस्थाका सचिव छन्द धरेल लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

वि.सं. २०५५ सालमा स्थापित समितिले विगत १० वर्षदेखि असार २२ गते स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा धादिङवासी र पोखरेलीको समेत उत्साहजनक सहभागिता रहँदै आएकाले कार्यक्रमलाई निरन्तरता दिईएको कार्यक्रम संयोजक वीर बहादुर थापाले बताउनुभयो ।

रक्तदान कार्यक्रमका साथै समितिले धादिङ जिल्लाका विभिन्न ग्रामिण भेगमा शिविर संचालन, छात्रवृत्ति वितरण, बाढीपीडित, मृगौला तथा मुटुरोगी जिल्लावासीलाई आर्थिक सहयोग गर्दै आएको छ ।

धादिङ समितिकै पहलमा केहि वर्षअघिमात्र अन्तरसमाज महासंघ राष्ट्रिय समिति समेत गठन गरिएको थियो । समितिको संस्थापक अध्यक्षमा धादिङकै रुद्रप्रसाद खनाल रहनुभएको छ । यस्तै, विभिन्न विपद्मा परेका जिल्लाबासीहरुलाई उद्दार तथा सहयोग गर्न २०६३ सालदेखि धादिङ सहयोग संस्था क्रियाशील छ भने धादिङ सहकारी स्थापना गर्न पनि प्रक्रिया जारी रहेको समितिले जनाएको छ ।