बेल्खु आसपासका क्षेत्रमा कालो मुस्लो सहितको प्रदुषण
301 पटक पढिएको

धादिङ, २७ चैत २०८१ । विगत केही दिनदेखि बायु प्रदुषण बढेको छ । देशैभर आकाशमा डम्म तुवाँलो र बादल बढ्दै गईरहेको छ ।
बायु प्रदुषणको चपेटा बढिरहेको बेला धादिङ जिल्लाको गजुरी गाउँपालिका अन्तर्गत बेल्खु क्षेत्रमा बिटुमिन पकाउँदा निस्किएको कालो मुस्लो धुंवाले स्थानीयवासी मर्कामा परेका छन् ।
कुनै सुरक्षा सावधानी र मापदण्डको पालना नगरी गरिएको यो कार्यले गाउँ सम्म धुवाँको बाक्लो कुहिरो फैलिएको छ, जसले गर्दा सास फेर्न गाह्रो हुनुका साथै आँखामा पोल्ने समस्या समेत देखा पर्न थालेको स्थानीयले वताए ।
स्थानीय बासिन्दाका अनुसार यो धुवाँले विशेषगरी गल्छि गाउँपालिका–१ र २ का क्षेत्रमा बढी प्रभाव पारिरहेको छ। धुवाँका कारण बालबालिकादेखि वृद्धवृद्धासम्ममा स्वासप्रश्वास, आँखा पोल्ने, टाउको दुख्ने लगायतका लक्षण देखा पर्न थालेका छन्।
“धुवाँको असरले साँच्चै गाउँ नै नराम्ररी प्रभावित भएको छ,” एक स्थानीय बासिन्दाले बताए, “बच्चाहरू बिरामी परेका छन्, वृद्धहरूलाई झन गाह्रो भएको छ।”
बिटुमिन जस्तो रसायनिक पदार्थ पोल्दा निश्चित मापदण्डहरू पालना गर्नुपर्ने प्रावधान छ – जस्तै बस्तीभन्दा टाढा राख्ने, र धुवाँलाई माथि तान्ने मेसिनको प्रयोग गर्ने। तर यसपटक ती सबै नियमहरूको पूर्ण बेवास्ता गरिएको देखिन्छ।
गाउँको छेउमै राखिएको बिटुमिन खुलेआम पोलिँदा यहाँबाट निस्किएको कालोमुस्लो सहितको धुंवाले गल्छी गाउँपालिकाको बेलिनटार , भुत्याहा , मास्टार, केउरीनी बेल्खु ,गजुरी गाउँपालिकाको बेल्खु, आदमघाट,मिलनटार सिद्धलेक गाउँपालिकाको आदमटार,छाँगेटार लगायतका आसपासका क्षेत्रहरूमा समेत प्रत्यक्ष असर पुर्याएको छ।
पृथ्वीराजमार्गको सडक स्तरोन्नतीको काम भईरहेको र सोही क्रममा सडक कालोपत्रे गर्न अहिले बेल्खुमा पिच गर्न चाहिने विटुमिन पकाउने काम भईरहेको हो । यसबारेमा सम्बन्धित स्थानीय निकायहरू भने मौन छन्।
धुंवाबाट प्रभावित भएका स्थानीय बासिन्दा चाँडै समाधान खोज्न आग्रह गरेका छन् । हामी विकासको विरोधमा होइन प्रदुषणको विरोधमा छौं, विकासको नाममा कसैलाई पनि असर नपर्ने गरी काम गर्न स्थानीयको आग्रह छ । उनीहरूले स्थानीय जनप्रतिनिधिहरूलाई तत्काल पहल गर्न अनुरोध गरेका छन्।
“विकासको काम हो भनेर सहेर बसेका थियौं, तर स्वास्थ्यमै गम्भीर असर पर्न थालेपछि अब चुप लाग्न सकिँदैन,” स्थानीयले बताउँछन् ।
सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूले यो विषयमा चाँडै हस्तक्षेप नगरे थप जनस्वास्थ्य संकट निम्तिन सक्ने खतरा देखिएको छ।