हेलो सरकारका सेवा बन्द

1078 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २ चैत ।  जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले जानकारी दिए । सर्वसाधारणको गुनासो सुनेर त्यसलाई तत्काल सम्बोधन गर्नका लागि माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट सो सेवा शुरु गरिएको थियो । ‘हामीले केन्द्रबाट नभई क्षेत्रीय कार्यालयबाट पनि सेवा दिएका थियौँ’, उनले भने– ‘तर मुलुक संघीयतामा प्रवेश गरेपछि क्षेत्रीय कार्यालय पनि बन्द भएकाले ती ठाउँबाट दिइने हेलो सरकारको सेवा प्रभावित भएको छ ।’ हेलो सरकार सञ्चालन गर्नका लागि खटिएका क्षेत्रीय प्रशासक कार्यालयका कर्मचारी प्रदेश कार्यालयमा गएपछि हेलो सरकार सेवा सञ्चालन प्रभावित भएको हो ।

 

विसं २०७१ देखि पोखराबाट क्षेत्रीयस्तरमा पहिलो पटक हेलो सरकार सेवा शुरु गरिएको थियो भने अन्तिममा दिपालयमा शुरु गरिएको थियो । ती ठाउँबाट हेलो सरकारमार्फत गुनासो सम्बोधन नभएपछि त्यहाँका गुनासो सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारबाट नै सम्बोधन हुने गरेको छ । प्रमुख उपाध्यायले सात वटै प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षबाट प्रदेशस्तरमा हेलो सरकार पुनःसञ्चालन हुने बताए । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ कात्तिक १७ गते जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालन गरेका थिए ।(रासस)