सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको आरोपमा नौजना पक्राउ

1098 पटक पढिएको

प्रकाशित मिति: २०७४, ५ चैत्र सोमबार १८:१३

सम्पादक: धादिङ न्यूज

 

 

 पोखरा, ५ चैत – सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो ।

२५ लाख चिट्ठा पर्यो तपार्इंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

उहाँका अनुसार पक्राउ पर्नेहरुमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, धादिङको नेत्रावती गाउँपालिकाका ठाकुर गुरुङ, गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीको लामो समयको सक्रियतामा पक्राउ परेको उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सो अवसरमा प्रहरी उपरीक्षक सिंहले बताए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, ५ चैत्र सोमबार १८:१३ मा प्रकाशित