विमा गराउने किसान बढ्दै, एक अर्ब नौ करोड बढीको पशुपंक्षी बिमा

763 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा एक अर्ब ९ करोड बढी रकमको पशुपंक्षी बिमा गरिएको छ । सरकारले कृषि र पशुपालनलाई व्यावसायीकरण गर्न बाली र पशुधन बिमा गर्ने किसानलाई अनुदान उपलब्ध गराउन थालेसँगै बिमा गर्ने क्रम बढेको हो । पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पशुतर्फ एक अर्ब ६ करोडभन्दा बढी रकमको बिमा गरिएको छ, भने पंक्षीतर्फ २ करोड ५१ लाख भन्दा बढी रकमको बिमा गरिएको छ ।

पशुपंक्षी मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ४२ हजार ५ सय २१ पशु र ७३ हजार ९ सय ५७ पंक्षीको बिमा गरिएको छ । हरेक चौमासिकमा मन्त्रालयले बिमा कम्पनीले पेस गरेको तथ्यांकका आधारमा तथ्यांक सार्वजनिक गर्ने गर्दछ । फागुन महिनामा मात्र १ सय २ पशुपंक्षीको ४९ लाख ९ हजार रकम बराबरको बिमा गरिएको पशुपंक्षी विकास मन्त्रालयका सह सचिव एवं प्रवक्ता श्यामप्रसाद पौड्यालले जानकारी दिए ।

देशभर अहिलेसम्म ६ अर्ब रुपैयाँ बराबरको बाली तथा पशुपंक्षी बिमा गरिएको छ । सरकारले किसानको जोखिम न्यूनीकरण गरी उत्पादन बढाउन टेवा पुगोस् भनेर पशु र कृषि बिमामा लाग्ने प्रिमियम शुल्कमा ७५ प्रतिशतसम्म अनुदान दिएको छ । कृषि विकास र पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष ०७४ र ७५मा प्रिमियममा अनुदान दिनका लागि ३५ करोड रुपैयाँ छुट्टाएका थिए सौर्य डेलि डट कममा खबर छ ।

जसमा पशुधनको बिमाका लागि २५ करोड र बालीनालीको बिमाका लागि १० करोड रुपैयाँ विनियोजन गरिएकोमा पशुधन बिमा अन्तर्गत छुट्याइएको २५ करोडमध्ये १० करोड खर्च भइसकेको र बाँकी १५ करोड चालु आवको अन्त्यसम्ममा खर्च गरिसक्ने पौड्याले बताए । आगामी बजेटमा पशुपंक्षी बिमाको लागि ३५ करोड माग गर्ने तयारी गरेको छ ।

भइपरी आउने जोखिमबाट बचाउनको लागि पशुपंक्षी बिमा गरिन्छ । अकस्मात प्राकृतिक रूपमा क्षति भएमा बिमांक रकमको ८० प्रतिशत रकम फिर्ता हुन्छ, भने अनुत्पादकमा ४० प्रतिशत रकम फिर्ता गर्ने व्यवस्था रहेको पौड्यालले जानकारी गराए । बिमा गर्दा एक सय रुपैयाँ लाग्यो भने किसानले २५ रुपैयाँ लगानी गर्ने र सरकारले किसानलाई ७५ रुपैयाँ उपलब्ध गराउँछ ।

बाली तथा पशुधन बिमाअन्र्तगत किसानले गाईभैंसी, बाख्रा, बंगुर, माछा, बालीनालीको बिमा गर्ने गरेका छन् । आर्थिक वर्ष ०७३÷७४ मा मुलुकभरका किसानले करिब ८५ हजार गाईभैंसी, १ लाख ३० हजार पंक्षीको बिमा गरेको सरकारी तथ्यांकले देखाउँछ ।

बाली तथा पशु बिमाका लागि बिमा समितिबाट १७ बिमा कम्पनीले अनुमति पाएका छन् । बिमा समितिका अनुसार बाली तथा पशुधन बिमा गराउनेको संख्या तथा रकम दिन प्रतिदिन बढीरहेको छ । समितिको तथ्यांकअनुसार गत वर्षको प्रथम चौमासिकभन्दा चालु आवको प्रथम चौमासिकमा झण्डै ५१ प्रतिशत बिमा बजार वृद्धि भएको बिमा समितिका उप निर्देशक कुन्दन साकोटाले बताए ।

सापकोटाका अनुसार हालसम्म बिमा कम्पनीहरूले ७ करोडभन्दा बढी रकम बिमाकर्तालाई भुक्तानी गरिसकेका छन् । सापकोटाले भने, ‘सरकारले अनुदान दिन थालेपछि बिमा गराउने बढेका छन् तर चालु आवकै करिब १९ करोड रकम आउन बाँकी छ ।’

‘कृषि तथा पशुपंक्षी बिमा निर्देशन ०६९’ लागू भएसँगै कृषि तथा पशुपंक्षी बिमाको लागि बाटो खुलेको थियो । ०७० सालमा सरकारले यस खालको बिमामा ५० प्रतिशत अनुदान दिने निणय गरे पनि एक वर्षमै सरकारले सो अनुदान बढाएर ७५ प्रतिशत पु¥याएको थियो । बिमाले निर्वाहमुखी तथा व्यावसायमुखी दुवै थरि किसानलाई फाइदा पुगेको बिमा विज्ञहरू बताउँछन ।

पशुधनको दुर्घटना वा रोग प्रकोपले मृत्यु भएमा तथा कृषि बालीमा उत्पादन नभएमा बिमा माग दाबी गरेपछि सम्बन्धित कम्पनीले मूल्यांकन गरेर किसानलाई बिमा रकम दिने गर्छन् । हाल बाली बिमाअन्तर्गत तरकारी, अन्न बाली, मसला बाली, फलफूल, मौरी माछा, र पशुपंक्षी बिमाअन्तर्गत कुखुरा, अष्ट्रिच, भैँसी, उन्नत जातको गाई, घोडा, खच्चड, भेडा बाख्रा र गोरु आदिको बिमा गरिँदै आएको छ ।

बाली तथा पशुपंछी बिमा व्यवसायलाई प्रवद्र्धन गर्नका लागि बाली तथा पशुपंक्षी बिमा व्यवसायमा संलग्न १७ वटा बिमा कम्पनीहरू कम्पनीहरूलाई ३ देखी ५ वटा जिल्लाहरू कार्यक्षेत्रको रूपमा तोकिएको छ । बाली तथा पशुपंछी बिमाको क्षेत्रमा देशभरि हाल नेपाल युनाइटेड इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स, प्रिमियम इन्स्योरेन्स, एन बी इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनी काम गरिरहेका छन ।

त्यस्तै, नेपाल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र नेको इन्स्योरेनसले बाली तथा पशुपंछी बिमाको काम गरिरहेका छन् । तोकिएको जिल्लाहरूमा सम्बन्धित बिमा कम्पनीहरूले अनिवार्यरूपमा बाली तथा पशुपंछी बिमा व्यवसाय गर्नुपर्नेछ भने अन्य जिल्लाहरूमा आवश्यकताअनुसार बिमा व्यवसाय गर्न पाउने व्यवस्था रहेको छ । यसबाट दुर्गम जिल्लाहरूमा पनि बाली तथा पशुपंछी बिमाको कृषकसमक्ष पहुँच पुग्ने बिमा समितिले उल्लेख गरेको छ ।