नौबिसे – नागढुंगा सुरुङमार्गको निर्माणका लागि तीन महिनाभित्रै ग्लोवल टेन्डर

1249 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राजधानी काठमाण्डौं प्रवेश गर्ने छोटो मार्गका रुपमा बहुचर्चित नागढुंगा–नौबिसे सुरुङ निर्माण आयोजनाले गति लिने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएकोले आयोजना निर्माणको बाटो खुलेको हो ।

सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणका लागि साढे ३ महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ । सुरुङमार्ग निर्माणका लागि आयोजनाले जग्गा प्र्राप्तिको कार्य भइरहेको जनाएकोे छ । सडक विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सुरुङ मार्ग निर्माणका लागि नेपाल र जापानबीच ऋण सम्झौता भएपछि थप हौसला मिलेको बताएका छन् । सम्झौता अनुरुप जापान सरकारले साढे १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । छन् । ‘हामीले सुरुङ मार्गको सबै अध्ययन अनुसन्धानको कार्य सकेर डीपिआर समेत तयार पारेको छौं ।’ उनले भने, ‘ तीन महिनाभित्रै ग्लोबल टेन्डर आह्वान गरेर अन्य सबै प्रक्रिया चाँडै सकेर सुरुङमार्ग निर्माणअघि बढाउने तयारी गरेका छौं ।’

नागढुंगा–नौबिसे सुरुङमार्गमा २ दशमलव ७ किलोमिटर लामो सरुङ र ३ दशमलव ५ किलोमिटर सडक रहनेछ । आयोजनाले सुरुङ निर्माण थालेको साढे ३ बर्षमा निर्माण सक्ने लक्ष्य लिएको छ । सुरुङमार्ग निर्माणका लागि जग्गा प्राप्तिको काम लगभग सकिएको आयोजनाले जनाएको छ । सुरुङमार्ग एक्सेस रोडका लागि महादेवस्थान, दहचोक, बलम्बु र थानकोट क्षेत्रमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया भइरहेको बताइएको छ । ‘सुरुङमार्ग जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुनेछ ।’ आयोजना प्रमुख समेत रहेको श्रेष्ठले भने, ‘जापानले १५ अर्ब ऋण लगानी गर्नेछ । यसबारे दुई देशबीच सम्झौता भइसकेको छ ।’

०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि जापानले ऋण दिने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने विभागको अनुमान छ । यस आवमा उक्त परियोजना निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ छुटयाइएको श्रेष्ठले बताए घटना र बिचार डट कमले खबर लेखेको छ ।

आयोजना निर्माणपछि काठमाडौ उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने यात्रुहरुले विद्यमान ट्राफिक जामको समस्याबाट उन्मुक्ति पाउने प्रमुख श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार राजधानीको एक मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि तीन घण्टासम्म लाग्छ । सुरुङबाट २० मिनटमै काठमाडौं प्रवेश गर्न सकिनेछ ।