इँट्टा उद्योगका कारण पकेट क्षेत्रका तरकारी नोक्सान

1178 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । तरकारी उत्पादनमा पकेट क्षेत्रकोरुपमा रहेको दक्षिणपूर्वी धादिङको थाक्रे गाउँपालिका र धुनीबेँसी नगरपालिका क्षेत्रमा इँट्टा उद्योगका कारण तरकारीे उत्पादनमा कमी हुँदा कृषक समस्यामा परेका छन् ।

तत्कालका लागि फाइदा पुगेपनि नियमित रुपमा इँट्ट उत्पादन हुँदा तरकारी तथा अन्य खाद्यान्नबालीका उत्पादनमा समेत कमी आएको सो क्षेत्रका किसानले बताएका छन् ।

तरकारी पकेट क्षेत्रमा रहेको इँट्टा उद्योगका कारण वातावरणमा असर पार्नुका साथै बालीनाली समेत प्रभावित भएको उनीहरुको गुनासो छ ।

धुनीबेँसी नगरपालिकामा १ सय ८७ हेक्टर, थाक्रे गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफल जमिन इँट्टा उत्पादनका लगि प्रयोग भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।

कृषि विकास कार्यालयका प्रमुख केशव देवकोटाका अनुसार धुनीबेँसी नगरपाकिामा ९ सय ३० हेक्टर र थाक्रे गाउँपालिकामा ६८५ हेक्टरमा वार्षिक १८ हजार ३५५ मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको थियो । तर, इँट्टाका कारण बिस्तारै उर्वराशक्तिमा ह्रास हुँदै जान थालेको छ ।

इँट्टा उद्योगले पारेको असरबारे कृषिमा आश्रित धुनीबेँसी र थाक्रेका ५ हजार कृषकको अवस्था बुझ्न कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुखले स्थलगत भ्रमण गरी तरकारी पकेट क्षेत्रका कृषकसंग छलफल गरेका छन् ।

सरदर प्रतिमेट्रिक टन ३५ हजार रुपैयाँ मात्र आम्दानी हुने हिसाबले ९ करोड ९० लाख ३२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सान हुने देखिन्छ । जग्गाधनीले जग्गा भाडामा लिइ माटो बेचर सरदर प्रति हेक्टर एक लाख ३० हजार रुपैयाँ वार्षिक भाडा दरले २२ करोड ९० लाख ५५ हजार रुपैयाँ लिँदै आएका छन् । यसरी इँट्टा भट्टालाई जग्गा भाडामा दिँदा पनि कृषकले करिव ७ करोड रुपैयाँ वार्षिक रुपमा नोक्सान व्योहोर्दै आएको अनुमान छ ।
किसानले जग्गा भाडामा दिनुका साथै उत्पादनशील माटो समेत बेचेका छन् । माटो बेचेका मात्र होइनन उर्भरभूमिलाई मरुभूमि समेत बनाउँदैछन् । इँट्टा उद्योगबाट निस्किएको धुवाँ, धुलो र ध्वनी प्रदूषणले पर्यावरणमा परेको क्षति रुपैयाँमा तुलना गर्न सकिदैँन । इँट्टा पोल्दा निस्किएको धुवाँ र धुलो घाँसमा टाँसिएको हुन्छ । गाईभैँसीलाई त्यही घाँस खुवाइन्छ । उडेर आएको धुवाँको मुस्लो तरकारीमा खस्छ पखालेर पनि जादैन । धोएर सुकाएको कपडा कालो हुन्छ । यो समस्याले कृषक मारमा परिरहेको प्रत्यक्ष देख्न सकिने भएकाले तरकारी पकेट क्षेत्रलाई तरकारी पकेट क्षेत्रकै रुपमा विकास गर्न खाद्य अधिकारका लागि क्रियाशील फियान नेपालका जिल्ला संयोजक राजेन्द्र बस्नेतले बताए ।

जग्गा भाडाँमा दिएर खान नपुग्ने तरकारीखेती गरेर घरखर्च चलाएको किसानको गुनासो छ । इँट्टा उद्योग सञ्चालनसँगै स्थानीयवासीलाई मानसिक तनाव बढाएको छ । जुन तनाव पनि रुपैयामा तुलना गर्न सकिदैन । जग्गा भाडामा दिनुभएका शालिकराम कोइराला उद्योगले पु¥याएको नोक्सानी देखेर आफैलाई दिक्क लागेको गुनासो गरे । रासस