राष्ट्रपति भण्डारीद्धारा संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५\७६ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेकी छन् ।
सरकार गठन भएको तीन महिनापछि राष्ट्रपति भण्डारीले सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् ।

सरकाको नीति तथा कार्यक्रममा आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसदको संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाइने उल्लेख गरेकीछन् ।

आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, दिगो विकासको लक्ष्य पूरा गर्ने, असमानता कम गर्ने, सबैलाई समान अवसर दिने उल्लेख गर्दै उनले कृषि ऊर्जा, उद्योग र पर्यटनलाई आर्थिक विकासका संवाहकको रुपमा अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारको रुमपा विकास गर्ने, प्रमुख शहरलाई हरित शहरमा विकास गर्ने, जैविक विविधताको संरक्षण तथा नदी किनारा संरक्षणमा जोड दिने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउने र स्वच्छ पानीे उपलब्ध गराउन विशेष ध्यान दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घण्टा विद्युत् सेवा उपलब्ध गराउने, प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ ।

यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गर्ने, मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखिएको छ । यसैगरी रसुवागढी–काठमाडौँ– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने सरकारको लक्ष्य छ ।

यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गर्ने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गर्दा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, न्याय, कानून तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ, संसद सचिवालयका महासचिवसहित सचिवालयका उच्च अधिकृतले स्वागत गरेका थिए । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।

व्यवस्थापिका–संसद भवनलाई रङ्गीचङ्गी ध्वजा पताकाले दुलहीजस्तै गरी सिँगारिएको थियो । दुवै सदनका सांसदहरु दौरा सुरुवाल अनि आ–आफ्नो जातीय परम्परा झल्किने पोशाकमा उपस्थित भएका थिए ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति प्रस्तुत गर्न प्रदान गरेका थिए ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमको विशेष समारोहमा राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।