जनप्रतिनिधिहरुलाई बैदेशिक रोजगार सम्बम्धी अभिमुखीकरण

1221 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ९ जेठ -बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउनको लागी धादिङ जिल्लाको निलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो वडाबाट युवाहरुलाई स्वरोजगार बनाउनका लागी आवश्यक पर्ने नीति निर्माणमा पहल गर्ने बताउनुभएको छ । बैदेशिक रोजगारमा जाने युवाहरुलाई सुचना,सिप,न्याय र मनोसामाजिक परामर्श सेवाको लागी वडा स्तरमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ । यसैगरी वैदेशिक रोजगारको कारण सृजित समस्या समाधानको लागी उद्धार तथा राहत कोष व्यवस्था र सुचना तथा परामर्श केन्द्र स्थापना गर्न पालिका स्तरमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र सुरक्षित आप्रवासन सामि परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको एक दिन वडा स्तरमा छनौट भएका निर्वाचित वडा सदस्यहरुबाट सम्पर्क व्यक्तिहरुको लागी आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा २५ जना वडा सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला परियोजना संयोजक कमलबहादुर रोकायले बैदेशिक रोजगारको वर्तमान अवस्था र चुनौतीको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । साथै सिड्स÷सामी परियोजना संयोजक गँगा सुवेदीले जिल्लामा सन्चालित सुरक्षित आप्रवासनको बारेमा गरिएको क्रियाकलाप र स्थानीय निकाय सँगको साझेदारीमा गरिएको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
यसैगरि सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बैदेशीक रोजगारमा देखीएको समस्या,न्युनीकरणको लागी स्थानीय तहले खेल्नुपर्ने भुमिका र युवाहरुको सुरक्षाको लागी आवश्यक नीति नियमको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा कार्यक्रम अधिकृत दिल बहादुर रम्तेलले बैदेशिक रोजगारको कारण सृजित भएका समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो ।