धादिङवेसी सल्यानटार सडक निर्माणमा ढिलाई,सर्वसाधरणलाई सास्ती

1368 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङवेशी सल्यानटार सडक निमार्ण कार्यमा भईरहेको ढिलाईका कारण धेरै जनाले सास्ती खेप्नु परेको भन्दै उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सरोकारवालाहरुले सुझाव दिएका छन ।
सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएकोले तोकिएको मापदण्ड र समय सिमा भित्र काम सम्पन्न गर्न धादिङ निर्वाचन क्षेत्र २ अन्तरगत प्रदेश सभा २ का साँसद जगत सिंखडाले निमार्ण कम्पनीलाई निर्देशन दिएका छन् ।
सडक निमार्ण गर्ने जिम्मेवारी लिएको लामा कन्स्ट्रक्सनले काम नगरि समय गुजारेको र काममा ढिलाई हुनुको कारण सरकार,स्थानीयवासी र मौसमलाई देखाएर जिम्मेवारीबाट पन्छिन खोजेको सांसद सिम्खडाले वताउनुभयो ।सडक निमार्ण कार्य प्रभावकारी ढंगबाट नहुदाँ सामाजिक सञ्जालबाट जनताले आपत्तिजनक आक्रोस पोखेको बताउर्दै बर्खायाममा समेत सजिलैसंग यातायात सञ्चालन हुने सडक तयार गर्ने बातावरण बनाउन सांसद सिम्खडाले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।
गर्न सक्छु भनेर जिम्मा लिएको काम समयमै सम्पन्न गर्न नसक्नेले जिम्मेवारी लिनुको अर्थ नहुने भन्दै त्रिपुरासुन्दरी गाँउपालिका अध्यक्ष शम्भु कुमार थापाले आम सर्वसाधरणको सुविधाको लागि निर्माण भईरहेको सडककै कारण हरेक दिन हजारौ जनाले दुखः र सास्ती भोग्नु परेको भन्दै सडक निर्माणमा भईरहेको ढिलाईका बिषयमा केन्द्रीय सरकारले चासो देखाउनु पर्ने बताउनुभयो ।
सोमबार जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ९ ज्यामिरेमा जिल्ला समन्वय समिति धादिङले धादिङवेशी टारीबेसी सल्यानटार सडक निमार्णको सन्दर्भमा सरोकारवालाहरुसंगको छलफल एवम सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर सडक निर्माणमा भईरहेको ढिलाईका बिषयमा निर्माण कम्पनीको ध्यानाकर्षण गराएको हो । सार्वजानिक सुनुवाई कार्यक्रममा सडकले अतिक्रमण गरेको जग्गाको मुअव्जा वितरण एकरुपता नभएको,सडक बनाउँदा जथाभावी भल खोलिदिंदा घर भित्र बाढी पसेको, सडक विग्रेको कारण विरामी लिएर उपचारमा जान नसकेको, दैनिक आवागमन प्रभावित भएको बिषयमा सर्वसाधरणले आफ्नो कुरा राखेका थिए ।
सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले खण्ड १ अन्तरगत १२ किलो मिटरको ३१ प्रतिशत र खण्ड २ को १४ दशमलव ७७ किलोमिटर को २१ प्रतिशत काम भएको आयोजना प्रमुख नविनमान श्रेष्ठले कार्यक्रममा बताउनुभयो । सम्झौता अनुसार निमार्ण कम्पनीलाई अव छ महिना मात्र काम गर्ने अवधि रहेको पनि अयोजना प्रमुख श्रेष्ठले जानकारी गराउनु भयो । सर्वसाधरणले उठाएका गुनासोहरुको जवाफ दिने क्रममा लामा कन्ट्रक्सनका प्रतिनिधि युरोज अर्यालले सरकार निकम्वा र लाचारी भएको भनेका कारण जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रदेश सभाका सांसद सिम्खडा र अन्य नागरिकले उक्त शव्द फिर्ता लिन कडा दवाव दिएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख नेपाल र सांसद सिम्खडाले लामा कन्ट्रक्सनले समयमै काम पुरा नगरेर समय थप गरि राज्यलाई ठुलो भार पार्न खोजेकाले यस्तोे दादागिरी अब धादिङमा नटिक्ने भएकाले समयमा काम सम्पन्न गर्न तर्फ दुवै जनाले निर्देशन दिएका थिए । निमार्ण कम्पनकिो काम तोकिएको निमार्ण सम्पन्न गर्ने हो सरकार र जनप्रतिनिधिलाई गाली गलोज गर्ने होइन । कुनै समस्या आईपरे स्थानीय देखि केन्द्रीय सरकारलाई जानकारी गराउने हो,समस्या देखाएर निमार्ण कार्य रोक्न नपाईने र कुनै पनि समस्या भए ति बिषयमा सहजिकरण गर्न आंफुहरु तयार रहेको समन्वय समितिका प्रमुख प्रमुख नेपाल र सांसद सिम्खडाले कार्यक्रममा वताएका थिए ।
लामा कन्ट्रक्सनले अहिले सम्म गरेको प्रगतिको आधार हेर्ने हो भने काम सम्पन्न गर्न अव ४ वर्ष लाग्ने अनुमान गरिएको छ ।