तरकारीका बिचौलिया मोटाउँदै, किसान भने मर्कामा

1171 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं: नेपालमा बिचौलिया मौलाउन थालेदेखि हरेक क्षेत्रमा त्यसको असर पार्दै आएको छ । जग्गाको किनबेच देखि दैनिक उपभोग्य सामग्री सम्म बिचौलियाको पहुँचले हरेक सामग्रीको खरिद मूल्यमा असर पार्दै आएको छ । सरकारको ठोस नियम र कानुनको कमिले बिचौलियाहरु हरेक क्षेत्रमा झनै विस्तार हुँदै गएका छन् ।

जुनसुकै कामका लागि पनि सरोकारवाला पक्षभन्दा बाहेकको तेस्रो पक्षको उपस्थितिले सम्बन्धित पक्षले हैरानी बेहोर्न बाध्य छन् । अझ दैनिक उपभोग्य लगायत अति आवश्यक सामग्रीमा समेत बिचौलियाकै उपस्थिति बढेकाले समाजमा नकारात्मक असर पुर्‍याएको स्पष्ट देखिन्छ । निरन्तर आय हुने हुँदा दैनिक उपभोग्य सामग्री प्रति बिचौलियाहरु बढी सक्रिय भएको देखिन्छ नेपाल तारा डट कमले खबर लेखेको छ ।

यसरी नै  नेपालको तरकारी क्षेत्रमा बिचौलियाहरु बढी सफल भएको पाइन्छ ।

बिचौलियाले दुवै किसान तथा ग्राहकलाई व्यापारमा सहजता दिने भएका कारण उनीहरु यस क्षेत्रमा सक्रिय हुँदै गएका हुन् । हुन त बिचौलिया बिना किसान र ग्राहक दुवैलाई सहज भने छैन । किसानले आफ्नो उत्पादन बेच्न आफै ग्राहकको पहुँच सम्म पुग्न सजिलो छैन भने ग्राहक पनि किसान सम्म उपभोग्य सामग्री खरिद गर्न पुग्न उत्तिकै कठिन छ । बिचौलियाले दुवैलाई सहजता भने दिएको छ तर किसानबाट लिने मूल्य र ग्राहकलाई बेच्ने मुल्यमा धेरै अन्तराल हुने गर्दा बिचौलियाले आफ्नो महत्वको फाइदा उठाई रहेका छन् ।

किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुगेपछि मात्र किसानले पाउने मूल्य तोक्छ । अन्त्यमा कुहिएर, बिग्रिएर कम मूल्यमा बिक्री हुने तरकारीको मूल्य किसानले पाउँछन् । सुरुमा बिहान तरकारीको मूल्य चर्को हुन्छ । त्यसपछि बीचमा अलि सस्तो हुन्छ । अन्त्यमा बाँकी रहेका बिक्री हुन नसकेका तरकारी सस्तोमा बेचिन्छ त्यो मूल्य किसानलाई दिने गरिएको छ ।

कसरी बढ्छ तरकारीको मूल्य?  

सुरुमा संकलकले किसानको खेतबाट किनेको तरकारीको मूल्य तोक्दैन । उसले किनिसकेपछि ढुवानी खर्च, प्याकेजिङ खर्च र आफ्नो नाफा गरी बिचौलियालाई त्यो तरकारी बेचेको हुन्छ । यस क्रममा संकलकले बेचेको तरकारी किसानले पाउने भन्दा ३० देखि ४० प्रतिशत वृद्धि हुने गर्छ ।

त्यसपछि किसानबाट किनिएको तरकारी बिचौलियाले थोक बिक्रेतालाई १५ प्रतिशत मूल्य थपेर बिक्रि गर्छ । थोक बिक्रेताले किनेको तरकारीमा २० प्रतिशत मूल्य थप गरी खुद्रा व्यपारीलाई बिक्री गरिन्छ । तरकारी ढुवानी गर्दा कुहिने र बिग्रने भन्दै बिचौलिया र व्यापारीले प्रतिक्वीन्टल १० प्रतिशतका दरले १० किलो तरकारीको मूल्य किसानलाई दिँदैनन् । अब खुद्रा व्यपारीले त्यसमा ३० प्रतिशत मूल्य तय गरी बजारका अन्य खुद्रा पसलेलाई बेच्छन् । खुद्रा पसले त्यस तरकारीमा पुन ४०-५० प्रतिशत नाफा राखेर आम उपभोक्तालाई बेचेका अध्ययनले देखाउँछ । यसरी चरणबद्धरुपमा तरकारीको मूल्य बढदै किसान देखि उपभोक्ता सम्म पुग्ने गरेको पाइएको छ जसअनुसार किसान बाट प्रति किलो २० रुपैयाँमा किनिएको तरकारी उपभोक्ता सम्म पुग्दा झन्डै ७५-८० रुपैयाँ पुगेको पाइन्छ ।

त्यति मात्र होइन, खेतबाट किनिसकेको तरकारी बिक्री नभएसम्म किसानले पैसा पाउँदैनन् । बिचौलियाले किनेको तरकारीको पैसा पाउन किसानले निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ । यसरी बिना लगानी बिचौलियाले फाइदा लिंदै आएका छन् भने मेहेनत गरी उब्जाएको फलमा किसानले न्यून रकम पाउने गरेका छन् ।

समाधान

सरकारी तह बाट विभिन्न चरणको लेयरलाई तोडेर सिधै खेतबाट बजारसम्म तरकारी पुर्‍याउने व्यवस्था मिलाउन जरुरी छ । यसले चरणबद्धरुपमा बढेको तरकारीको मूल्य समाधान गर्न सहयोग गर्नुका साथै  किसानले उचित मूल्य पाउन समेत सहयोग गर्दछ ।

यस्तै बिचौलियाले राख्ने मूल्यकै कारण थोक बजारदेखि खुद्रा पसलसम्म अधिकांश तरकारीको मूल्य समयसमयमा आकासिने गरेको पाइएको छ। बिचौलिया, कालिमाटीस्थित व्यापारी र खुद्रा व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्ने भएका कारण उपभोक्ता महँगोमा परेका हुन् । सरकारले अनुगमन गरी ठगी गर्ने र बढी मूल्यमा बिक्री गर्दै आएका बिचौलिया र व्यापारीलाई कारबाही गर्दै बजारमा मूल्य समायोजन गर्न जरुरी छ ।