वागेश्वरी माविका विद्यार्थीमा ‘कन्भर्सन डिसअर्डर’को समस्या-एक साताका लागि बिद्यालय वन्द

1445 पटक पढिएको

प्रकाशित मिति: २०७५, ४ असार सोमबार ११:५८

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ, ४ असार -गल्छी गाउँपालिका–६ बैरेनी वजारमा रहेको वागेश्वरी माध्यमिक बिद्यालयका केही बिद्यार्थीमा अनौँठो समस्या देखा परेको छ। बिद्यार्थी बेहोस हुने, चिच्याउने, लड्ने जस्ता समस्या निरन्तर देखिएपछि आगामी आईतबार सम्मका लागि बिद्यालय वन्द गरिएको छ ।  विद्यालयमा  केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक राजनप्रसाद अधिकारीले वताउनु भयो ।

 प्रधानाध्यापक अधिकारीका अनुसार एक साता अघि पहिलो पटक देखा परेको यो समस्याका कारण त्यति बेला दुई दिन  विद्यालय बन्द गरी  पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र असार ३ गते आईतबार धेरै जना बिद्यार्थी विरामी परेपछि आगामी आईतबार सम्मका लागि बिद्यालय वन्द गरिएको उहाँले वताउनु भयो ।

सामान्यतया मनोचिकित्सकहरुले कन्भर्सन डिसअर्डर भन्ने यो समस्या उत्पन्न हुँदा काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरु देखाउने गर्छन् । डाक्टर रामहरि रेग्मी भन्छन्, ‘मास हिस्टेरिया समुहमा पहिला एकजनालाई सुरु हुन्छ । उसको अवस्था देखेपछि त्यो अवस्थाबाट प्रभावित भएर संगै रहेका अरु मानिसमा एक प्रकारको डर पैदा हुन्छ अनि एक पछि अर्कोमा पनि यस्तै लक्षण देखापर्न थाल्छ । जसलाई मास हिस्टेरिया भनिन्छ ।’

मनोचिकित्सकहरुका अनुसार मनमा रहेको आन्तरिक पीडाहरु विभिन्न लक्षणका रुपमा देखिने रोगलाई कन्भर्सन डिस्अर्डर अर्थात मास हिस्टेरिया भनिन्छ । मनभित्रका अनेक पीडाहरु एकाएक शारीरिक लक्षणका रुपमा देखाउदा सध्देलाई अनौठो लाग्न पुग्छ । हिस्टेरिया आफैमा अनौठो रोग मानिन्छ । हिस्टेरिया वा मास हिस्टेरिया भएका बिरामीले केहि घण्टासम्म अनौठो लक्षण देखाएको केही घण्टामा होसमा फर्किन्छ ।
गाउघरमा मास हिस्टेरिया भएका विरामीको उपचार वा झारफुक गर्न धामीझाँक्री पनि लगाउने गरिन्छ । धामी झाक्रीले बोक्सी लागेको, शरीरमा प्रेतआत्मा पसेको वा कुनै देउता लागेको भन्दै शरीरबाट कुचोले, सिस्नुले पिट्नेदेखि आगोले झोस्ने चलन अझै हराएको छैन । यता चिकित्सा विज्ञानले हिस्टेरिया वा मास हिस्टेरिया मानिसमा बिभिन्न कारणले हुने भनेर प्रमाणित गरेको छ । विषेशगरी मनको आन्तरिक अन्तरद्वन्दका कारण हिस्टेरिया हुने गरेको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ ।
मास हिस्टेरिया भएमा बिरामीले देखाउने अनौठा अनौठा लक्षणलाई एकाग्र भएर ध्यान दिन नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन् । विरामीप्रति बढी ध्यान दिएमा एक पछि अर्को लक्षणसहित झन् विरामी पर्ने हुनाले उसले पत्याउने, मान्ने, वा उसले आदर्श मानेका व्यक्तिको मुखबाट ‘तिमिलाई केही भएको छैन । ठीकै छौ । यसरी आत्तिनु, बेहोस हुनु, कराउनु चिच्याउनु ठीक होइन’ भनेर विश्वस्त तुल्याउनु जरुरी रहेको मनोचिकित्सकहरुको सुझाव रहेको छ ।

यो समस्या ‘कन्भर्सन डिसअर्डर’ भएको चिकित्सकहरुले वताएका छन् । उपचार गराउँदा पनि रोग विसेक नभएकाले बिद्यार्थीमा मनोसामाजिक परामर्श आवश्यक परेको बिद्यालयले जनाएको छ । विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि निरन्तर देखिए पछि बिद्यालयमा पठन पाठन प्रभावित हुन थालेकाले एक साताका लागि बिद्यालय वन्द गर्नु परेको प्रधानाध्यापक अधिकारीले धादिङ न्यूज लाई वताउनु भयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, ४ असार सोमबार ११:५८ मा प्रकाशित