महिलाको सशक्तिकरणका लागि धादिङबेसीमा ‘सही हो अभियान”

930 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,९ असार – महिलाको सशक्तिकरणका लागि सही हो अभियान शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।
राष्ट्रिय तथा क्षेत्रीयस्तरका महिलाको सशक्तीकरण र लैंगिक समानताका विषयमा पैरवी, सचेतना अभिवृद्धि र बाधाहरूको समाधानका निम्ति चेतना अभिवृद्धिको कार्य गर्ने सन्देशमुलक अभियान शनिवार धादिङको सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको हो ।
एक्वेल एक्सेस नेपाल, सामुदायिक सारथी र यु एन ओमनको सहकार्यमा एक बर्ष अघि देखि सुरु भएको सही हो अभियानले आर्थिक सशक्तीकरणमा महिलाको नेतृत्वदायी भूमिका, बसाईसराई र बेचविखन बीचको सम्बन्ध, महिला र कृषिका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बिषयमा जनचेतनामुलक सन्देश प्रवाह गर्ने लक्ष्य आयोजकको छ ।
यस अभियान स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म पैरवी, नीति तथा कार्यक्रमहरूमा प्रभाव र समुदायको संलग्नतामा केन्द्रित रहने जनाइएको छ । सही हो अभियान धादिङका साथै सुनसरी, सिन्धुली, सर्लाही, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, बाँके र कैलाली गरी नेपालका ११ वटा जिल्लाहरूमा सञ्चालन भएको छ ।
शनिवार धादिङबेसीमा भएको कार्यक्रममा राज्यको हरेक निकायमा महिलाको निर्णायक सहभागीता बढाउन र लैङिगक हिंसा न्युनिकरणको लागि जनचेतना फैलाउने खालका सन्देशहरु दिन कलाकारहरु शिवहरी पौडेल, , जितु नेपाल, निरज नेपाल, सविता गुरुङ, गायीका मेलिना राई लगायतले प्रस्तुति दिएका थिए । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सामुदायिक मेला ना दिईएको उक्त कार्यक्रममा धादिङ जिल्लाको सदरमुकाम र आसपासका गाउँबस्तीमा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
सही हो अभियानले राष्ट्रियस्तरका सरोकारवालाहरूलाई नीतिमा भएका कमी कमजोरी र त्यसको समाधानका लागि नीति परिवर्तन तथा संशोधनका गर्न घच्घच्याउने जनाइएको छ ।

सही हो अभियानको मुख्य उद्देश्य लैङ्गिक विभेदपूर्ण भूमिका र व्यवहार विरुद्धको अभियान रहने बताइएको छ ।