हिंसा पीडित महिलाका लागि सुरक्षित आवास

813 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ – हिंसा पीडित महिलाहरुका लागि धादिङमा आधुनिक भवन निर्माण गरिएको छ । हिंसा पीडित महिलाहरुका लागि जिल्ला प्रहरी परिसर निर्माण गरिएको सो आधुनिक भवनको आज हस्तातरण तथा उद्घाटन गरिएको छ । एशियाली विकास बैँक एडीबी र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको सो भवनको नेपाल प्रहरीका महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र प्रसाद शर्माले उद्घाटन गर्नुभयो कान्तिपुर डेलि डटकममा खबर छ ।

एक करोड ९४ लाखको लागतमा सो भवन निर्माण गरिएको हो । ‘उक्त सुरक्षित आवासमा परिवारमा तत्कालै पुर्नस्थापना गर्न नसिकने र थप सुरक्षा दिनु पर्ने महिलाहरुलाई आश्रय दिईनेछ’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक डम्वरबहादुर विकले बताउनुभयो । उक्त आवास गृहमा हिंसा पीडित महिलाहरुका लागि सुत्ने कोठा, भान्सा कोठा शौचालय लगायतका सुबिधाहरु छन् । उक्त आवास गृहमा सोधपुछ कक्ष, कुरुवा कक्ष, बैठक कक्ष लगायतका १० वटा सुबिधा सम्पन्न कोठाहरु रहेका छन् । धादिङ जिल्ला महिला हिंसा तथा लैङ्गिक हिंसाका घटनाहरु वर्षेनी बृद्धि हुने गरेका छन् ।

जिल्लामा महिला हिंसाका घटनाहरु बढी देखिनुमा घटना सार्वजनिक हुने अवस्था बढेको र पीडित पक्षहरुले कानूनी बाटो खोज्न थालेकोले बढी घटनाहरु सतहमा आउन थालेको जिल्ला स्थित लैङ्गिक हिंसा न्युनीकरण कार्यकारिणी समितिका अध्यक्ष समेत रहेकी अधिवक्ता तोलाकुमारी पाठकले बताउनुभयो । जिल्लामा चालू आर्थिक वर्षमा मात्रै महिला तथा बालबालिकामा भएको अपराधको संख्या १ सय ७५ पुगेको छ । जिल्ला प्रहरीको तथ्याङ्क अनुसार बलात्कारमा १८, हाडनातामा करणीमा एक, बलात्कारको उद्योगमा ११ वटा घटना दर्ता भएका छन् । बहुबिवाह ८ र आत्महत्या पनि धादिङमा प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ । चालू आर्थिक वर्षमा मात्रै २९ जनाले पासो लगाएर र विष सेवन गरी आत्महत्या गरेका छन् ।  प्रहरीले महिला हिंसा र आत्महत्याका विरुद्ध टोल टोलमा प्रहरी कार्यक्रम मार्फत विद्यालय तथा महिला हिंसाका घटनाहरु बढी हुने गाउँपालिकाहरुमा आफना कार्यक्रम लैजाने तयारीमा रहेको जिल्ला प्रहरी प्रमुख विकले बताउनुभयो ।