निर्माणाधिन सरकारी कार्यालयको अवलोकन

1221 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २८ असार -सदरमुकाम धादिङवेसीमा निर्माणाधिन अवस्थामा रहेको सरकारी कार्यालयहरुको विहिवार अवलोकन गरिएको छ ।शहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङको अगुवाई तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा निर्माणाधिन सरकारी कार्यालय भवनको अवलोकन गरिएको हो ।
अवलोकनका क्रममा निर्माणको चरणमा रहेका जिल्ला प्राविधिक कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय तथा क्वाटर भवन हेरिएको थियो । सो क्रममा निर्माणाधिन भवनमा प्रयोग भएका निर्माण सामाग्रीहरुको गुणस्तर हेरिनुका साथै भवन निर्माणका क्रममा पु¥याउनुपर्ने मापदण्ड पुरा भए नभएका लगायत विभिन्न विषयलाई आधार बनाएर भवन निर्माणको काम हेरिएको थियो । सो क्रममा निर्माणाधिन अवस्थामा रहेका भवनहरुमा प्रयोग भएका निर्माण सामाग्रीहरु राम्रो रहेको, प्राविधिकहरुबाट समय समयमा अनुगमन हुने गरेको पाइएको थियो भने भवन निर्माणको क्रममा पटक पटक गुणस्तर मापन गरिने गरिएको, संझौता अनुसार नै काम हुने गरेको, जानकारी मुलक होर्डिङबोर्ड राखिएको पाइएको थियो भने दक्ष कामदारको नियमित उपस्थित गराउन नसकेको अवस्था देखिएको छ । यसैगरी कामदार कम हुँदा भवन निर्माणको काममा समय लाग्ने अवस्था समेत देखिएको अवलोकनमा सहभागि शेरबहादुर भण्डारीले बताउनुभयो ।
अवलोकन गरिएका सरकारी कार्यालयहरुमध्ये जिल्ला सरकारी वकिलको आवास गृह छिटो गतिमा निर्माण भइरहेको पाइएको छ । सो भवनको ८८ प्रतिशत काम सम्पन्न भइसकेको कन्सल्ट्यान्स चन्द्रिका प्रसाद शाहले बताउनुभयो । यस्तै जिल्ला सरकारी वकिलको कार्यालयको काम ५५ प्रतिशत सकिएको छ भने भवन डिभिजन कार्यालयको काम ३४ प्रतिशत र सबैभन्दा कम जिल्ला प्राविधिक कार्यालयको काम २० प्रतिशत मात्र निर्माण भएको उहाले बताउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भुकम्पपछिको पुनर्निर्माण हुनसक्ने अनियमितता तथा ढिलासुस्तीलाई मध्यनजर गर्दै यस्तो कार्यक्रमको आयोजना गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्प पछिको पुननिर्माणमा सदाचार कार्यक्रमका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले बताउनुभयो । सरकारी कार्यालय अवलोकन कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्राविधिक, विभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, भवन निर्माणको जिम्मा लिएका निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियर लगायतको सहभागिता रहेको थियो ।