बोक्सीको आरोपमा गाउँलेको कुटपिटबाट दुई जनाको हत्या

1309 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गंगाजमुना (धादिङ) – अन्धविश्वासको भर पर्दा धादिङ जिल्लाको उत्तरी भेगको विकटमा रहेको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लतावमा गाउँलेको कुटपिटबाट स्थानीइ दुई जनाको ज्यान गएको छ । गाउँघरमा झाँक्री काम गर्दै आएका ६४ बर्षिय पुरुङ माईला भनिने प्लेक तामाङ र ५२ बर्षका नर्वुङ भनिने नरुङ तामाङको गाउँलेकै कुटाइका कारण मृत्यु भएको  धादिङका एसपी डम्बर बि.क.ले बताउनुभयो ।साविकको रि गाविसको वडा नम्बर ६ मा पर्ने अहिलेको गंगाजमुना गाउँपालिकाको वडा नम्बर २ तामाङ समुदायको मात्र वसोवास रहेको क्षेत्र हो ।

तामाङ संस्कार अनुसार छिमेकीको ४९ औं दिनको घेवा (काजकिरिया)मा जम्मा भएका गाउँलेले मान्छे र गाईबस्तुलाई भेद गरेर विरामी पार्ने ,ज्यान लिने गरेको भन्दै उनीहरुमाथि माथि बोक्सी खेलाएको आरोपमा कुटपिट गरेको र शनिबार उनीहरुको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले जनप्रतिनिधि तथा गाउँवाहिरका मान्छेलाई घटनास्थलमा जान समेत रोकेको वताईएको छ । घटनाका बारेमा बुझन गएका गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षलाई गाउँलेले घटनास्थल पुग्न दिएनन्, कुटपिट गरेर हत्या भएको व्यक्तिको पोष्टमार्टम समेत नगरि गाउँलेहरुले शव जलाईसकेको खबर पाएको गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले वताउनु भयो ।

एसपी बि.क.का अनुसार शुक्रबार कुटपिट भएपछि शनिबार बिहान वडा कार्यालयमा बोलाएको छलफलमा समेत गाउँले उपस्थित भएका थिएनन् । कुटपिटबाट घाइते भएका दुबै जनाको शनिबार साँझ ४ बजे मृत्यु भएको खबर पाइएको थियो, ६ बजे शव जलाईसकेको भन्ने खबर आयो,’एसपी बि.क.ले भन्नु भयो , -घटनास्थल विकटमा रहेकोले प्रहरी टोली पुग्दैछ, भौगोलिक विकटता र यातायातको सुविधा नभएका कारण तत्काल प्रहरी पु¥याउन नसकिएको एसपि विकले वताउनु भएको छ ।

घटनास्थल पुग्न दार्खा प्रहरी चौकीबाट ४ घण्टा र फुलखर्क प्रहरी चौकीबाट ७ घण्टा पैदल हिड्नु पर्छ । धादिङबेसीबाट घटनास्थल पुग्न दुई दिन पैदल हिड्नुपर्छ । फूलखर्क प्रहरी चौकीका असई राजेशकुमार मिश्रले भने घटनास्थल टाढा भएकोले जनशक्ति थोरै भएकोले तत्काल घटनास्थल पुग्न नसकिएको बताएका छन् ।वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताउनुभयो ।

लतावमा दुईजना व्यक्तिको स्थानीयले कुटपिट गरेको कारण ज्यान गएको खबर आएकाले सो घटनाको निष्पक्ष छानविनका लागि जिल्ला स्थित प्रहरी प्रशासनलाई आग्रह गरिएको नेकपाका जिल्ला नेता कान्छा लामाले वताउनु भयो ।  घटना जुनसुकै समूहबाट भएको भएपनि यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई कानून वमोजिम उचित दण्ड सजायँ हुनुपर्ने नेता लामाको भनाई छ ।