नेकपा प्रदेश ३ को नेतृत्व पूर्वएमालेलाई १०, माओवादीलाई ७-धादिङमा नेत्रराज पौडेल

13137 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३  ले एकीकरणसम्बन्धी प्रतिवेदन सर्वसम्मत तयार पारेर महासचिव विष्णु पौडेललाई बुझाएको छ ।एकीकरण कार्यदलले महासचिव विष्णु पौडेललाई आइतबार बुझाएको प्रतिवेदन अनुसार प्रदेश ३ का १७ जिल्ला कमिटीमध्ये पूर्वएमालेले १० र माओवादीले ७ लिने गरी बाँडफाँड गरिएको   छ । पूर्वएमालेले नेतृत्व लिने गरी काठमाडौंमा रामशरण ढुंगाना, मकवानपुरमा बद्री लम्साल, धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्णेल लामा, सिन्धुपाल्चोकमा झम्क नेपाल, दोलखामा भीम दाहाल, ललितपुरमा हरिकृष्ण व्यञ्जनकारको नाम अध्यक्षमा सिफारिस भएको छ ।

भक्तपुर पनि पूर्वएमालेले लिने समझदारी भए पनि नटुंगिएका कारण अध्यक्षको नाम सिफारिस भएको छैन ।पूर्वमाओवादीले काभ्रे, चितवन, सिन्धुली, रामेछाप र नुवाकोटका साथै युवा–विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व लिने भएको छ । काभ्रेमा सूर्यमान दोङको नाम सिफारिस भएको छ ।

पूर्वएमालेले विशेष जिल्ला कमिटीतर्फ उद्योगी व्यवसायी र पेसागत विशेष जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । एकीकरण कार्यदलका सदस्य काशीनाथ अधिकारीले प्राविधिक कारणले भक्तपुरबाहेक सबै जिल्ला र प्रदेशको प्रतिवेदन सर्वसम्मत रूपमा महासचिव पौडेललाई बुझाएको जानकारी दिएका छन ।एकीकरणमा गएका दुई दल मध्ये एउटाको अध्यक्ष भए अर्को दलको सचिव हुनेछ । एकीकरण पछिको जिल्ला कमिटिमा रहन अहिले दुवै पार्टीका जिल्ला तहका नेता कार्यकर्ताहरुको दौडधुप पनि शु्रु भएको छ ।