ऐया ! टाउको दुख्यो !!

1107 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-डा.राजिव झा

टाउको दुख्ने समस्या एउटा यस्तो साधारण कारण हो । जसको कारणले गर्दा मानिसहरू अस्पताल वा चिकित्सक/डाक्टरहरू कहाँ जान्छन् । यस समस्याबाट संसारका सबै मानिस जुझिरहेका छन् । र, यिनीहरूमध्ये करिब ५० वर्षको उमेरसम्म ९० प्रतिशत मानिसहरू टाउको दुख्ने समस्याले अस्पतालमा पुगेकै हुन्छन् ।

टाउको दुखाइ जति साधारण समस्या भए पनि करिब १० प्रतिशत मानिसहरूमा कारण ठूलै समस्या भएको पाइन्छ । मैले करिब ५०/६० जना दैनिक यस्तो बिरामी जाँच्ने गरेको छु, त्यसमा पनि करिब ९०/९५ प्रतिशतमा कारणचाँहि साधारण नै हुन्छ ।

टाउको दुःखाइ हुने कारणहरूमा प्रायः तनाव नै प्रमुख हो । टाउको दुःखाइ समस्या एउटा भए पनि कारण सयौँभन्दा बढी रहेका हुन्छन् । अन्तर्राष्ट्रिय वेडेक क्लासिफिकेसनले टाउको दुखाई मात्र करिब दुई सयभन्दा बढी किसिममा विभाजित गरेको छ । जसअनुसार टाउको दुःखाइ यसरी वर्गिकित गरिएको छ ।

प्राथमिक टाउको दुःखाइ (९० प्रतिशत)
प्रथम
१ माइग्रेन
२ टेन्सन टाइप टाउको दुःखाइ
३ अटोनोमिक टाउको दुःखाइ
४ अन्य प्राथमिक कारणहरू
सेकेन्डरी टाउको दुःखाइ (१० प्रतिशत)

दोस्रो
१ टाउको वा घाँटीमा चोट लाग्दा
२ टाउको वा घाँटीको नसामा समस्या
३ टाउको वा घाँटीको इन्फेक्सन (संक्रमण)
४ ट्युमरहरू
५ वंशाणुगत रोगहरू

टेन्सन टाइप टाउको दुःखाइ ः सबैभन्दा सामान्य (कमन) जुन कि सबै किसिमको टाउको दुःखाइको करिब ७५ प्रतिशत कारक हो । र वयस्कहरूमा त करिब ९० प्रतिशतमा यस्तो प्रकारको समस्या देखिन्छ । तनावले गर्दा हुने टाउको दुःखाइ साधारणतया एकैनासको दुःखाइ हुन्छ र यो टाउकोको दुबै भागतिर दुख्छ । यस्तो दुःखाइले साधारण मानसिक असर परे पनि काममा नै असर पारेको जस्तो देखिँदैन । प्रायःजसो कुनै तनाव भएपछि यस्तो दुःखाइ आउँछ ।

माइग्रेन टाइप टाउको दुखाइ (आधा टाउको दुख्ने) ः– करिब १०/१२ प्रतिशत टाउको दुःखाइको कारण हो । यो टाउको दुःखाइ महिलाहरूमा पुरुषहरूभन्दा करिब तीन गुणाले बढी पाइएको छ । टाउको दुःखाइहरूमध्ये सबैभन्दा बढी समस्या दिने दुःखाइ हो । यस किसिमको दुःखाइ साधारणतया टाउकोको आधा भागमा दुख्छ । र, यो एकदमै जोड/जोडले टन्केको जस्तो गर्दछ । माइग्रेन टाइप टाउको दुःखाइमा वाकवाक लाग्ने बान्ता पनि आउने गर्दछ । यस्तो दुःखाइ भइरहेको वेलामा हल्लाहरू, भिडहरू तथा तीव्र प्रकाशहरू भएमा यो दुःखाइ अझै बढ्दै जान्छ । माइग्रेन हुन लागेको कतिपय बिरामीहरूमा त एककिसिमको लक्षणहरू जस्तै ः आँखाको अगाडि बत्ती बलेको जस्तो भान हुन्छ । माइग्रेनको दुःखाइ प्रायः कहिलेकाँही हुन्छ तर भएपछि धेरै दुःख दिन्छ ।

माइग्रेन टाइपको दुःखाइ हुने अवस्थाहरूमा अल्कोहलको सेवन, खानेकुराहरू मध्ये (चिज, चकलेट, कफी, सिसीमा खाँदेको अचार, आइसक्रिम, मौसमको बदलाव, तीव्र सूर्यको प्रकाश, कडा गन्धहरू) निन्द्रामा अपुग, अत्यधिक शारीरिक व्यायाम, समयमा खाना न खानु, डिप्रेसन, महिनावारी, परिवार नियोजनका चक्कीहरूको सेवन, हर्मोन थेरापी र मेनोपजहरू प्रमुख कारक हुन् ।

टाउको दुख्दैमा अस्पतालमा वा चिकित्सक कहाँ गइहाल्ने त ?
यदि टाउको दुःखाइ मन्द किसिमको छ । केहि घण्टा वा एक/दुई दिन भएको वा दुःखाइसँगै अन्य लक्षण देखियो भने जानुपर्छ । ब्लड प्रेसर छ भने पनि चिकित्सककोमा जानुपर्छ ।

निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरसँगसँगै बढ्दै जानसक्छ त्यसैले समयमा नै उपचार गराउनु राम्रो हुन्छ ।

तनावका कारण दुख्ने टाउको सन्चो गर्नका लागि तनाव कम गर्न जरुरी छ । बिरामी आपैmँले र चिकित्सकले यसको उपचार गर्न सहज हुन्छ । बिरामी आपैmँले प्रयास नगरेसम्म तनावबाट दुख्ने टाउकोको उपचार नै हुँदैन । तनावले टाउको दुख्ने मात्रै होइन शरीरका अन्य भागमा पनि असर गर्दछ ।

(लेखक वीर अस्पतालका स्नायु शल्यचिकित्सक हुन्)

-सौर्य डेलि अनलाइनबाट