धादिङ अस्पतालमा फिजियोथेरापी सेवा, बिरामीलाई भयो सहज

1803 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,१० असोज – धादिङ जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा बिस्तार भएसँगै जिल्लाका बिरामीलाई सहज भएको छ ।
ह्युमानिटी एण्ड इन्कुलजन (एचआई)ले २०७२ बैशाखको विनाशकारी भुकम्प बाट घाईते भए अपाङ्ग भएका व्यक्तिहरुको उपचार एवम अपाङ्गता व्यवस्थापन तथा पुर्नस्थापनाका लागि जिल्ला अस्पतालमाफिजियोथेरापी इकाई सञ्चालनमा ल्याएको थियो । सोही इकाई मार्फत अहिले अस्पतालमा आएर महिनाको २ सय भन्दा धेरै विरामीहरुले सेवा लिंदै आईरहेका छन् ।
जिल्ला अस्पतालमा यो सेवा शुरु भएपछि गर्धन, ढाड, कुम दुखेको,नसा च्यापिएको, हड्डी भाँचिएको, पक्षघात भएको, कुहिनो, ढाड र खुट्टाको समस्याका साथै बाथरोगका लगायतका बिरामीहरुले सेवा लिइरहेकोे जिल्ला अस्पताल धादिङका फिजियोथेरापीष्ट श्यामकिशोर साहले वताए । उपचारका लागि आउने बिरामीहरुमा ८० प्रतिशत भन्दा बढी दुर्गम गाउँका महिला, विपन्नहरु रहेको अस्पतालमा रहेको फिजियोथेरापि इकाईले जनाएको छ । साहका अनुसार ‘कामको बोझ र समयमै सुत्न नपाउदा ३० देखि ४० वर्ष उमेर समुहका विवाहित महिलामा बढी नसा र ढाड समस्या देखिन्छ’ ‘ढाड र नसाको रोगबाट पीडित बिरामीहरुलाई आधुनिक ‘लेजर’ बाट उपचार गरिने भएकाले अहिले धादिङबाट मात्र नभई अन्य छिमेकी जिल्लाबाट पनि बिरामी आउने क्रम बढ्दो रहेको इकाईले जनाएको छ ।
फिजियोथेरापी सेवा संगै अस्पतालले लामो समय सम्म उपचार गराउनु पर्ने हरुका लागि मिरर वायो फिड व्याक सेवा दिने गरेको छ भने गरिव तथा विपन्न विरामीहरुको पहिचान गरेर उनिहरुको आवश्यकता अनुसार ह्विल चियर, बैशाखी, लठ्ठि जस्ता सहायक सामाग्री निःशुल्क वितरण गर्ने गरेको साहले वताए ।