धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

2747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १७ असोज – नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ ।

जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक गते देखि असोज १५ गते सम्म अर्थात डेढ महिनाको अवधिमा जिल्ला अदालत धादिङमा १८ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् ।

अदालतमा दर्ता भएका  मुद्दामध्ये पुरुषले महिलासंग  सम्वन्ध विच्छेद गरी पाउँ भन्ने बारेमा रहेको काफ्ले जानकारी दिए । काफ्लेका अनुसार विगतका वर्षहरूमा पुरुषहरू सम्वन्ध विच्छेद गर्नका लागि आउँदैनथे । तर नयाँ बनेको मुलुकी ऐनले पुरुषहरूले पनि सम्वन्ध विच्छेद गर्न पाउने कानूनी व्यवस्था गरेपछि पुरुषहरू सम्वन्ध विच्छेद गर्नका लागि आउन थालेको उनको भनाई छ । “विगतका वर्षमा पुरुषहरू सम्बन्ध विच्छेदको मुद्धा लिएर अदालतमा खासै आउदैनथे तर अहिले महिलाभन्दा पुरुषहरू नै सम्बन्ध विच्छेदका लागि आउन थालेका छन्” काफ्लेले भने ।
जिल्ला अदालत धादिङमा अहिले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराउने पुरुषको मुद्दा नयाँ र पहिलो बनेको छ । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्वन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने ब्यबस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो । पहिलेको ऐनमा पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेमा सिधै अदालती प्रकृयामा जान पाउने ब्यबस्था नरहेको काफ्लेको भनाई छ । सम्वन्धविच्छेद गर्न चाहने पुरुषले स्थानीय तहमार्फत सिफारिस लिएरमात्रै सम्बन्ध विच्छेदको लागि अदालतसम्म पुग्ने कानुनी ब्यवस्था रहेको थियो । अहिले श्रीमानको मन्जुरी विना श्रीमती तिन वर्ष बाहिर बस्यो भने श्रीमानले सिधै अदालतमा गएर सम्बन्ध विच्छेद गर्न पाउने ब्यवस्था नयाँ बनेको मुलुकी ऐनले गरेको छ । पहिला पुरुषहरूले चाहेर सम्वन्ध विच्छेद गर्नका लागि केही झन्झटिलो व्यवस्था पहिलाको मुलुकी ऐनमा थियो । अहिलेको मुलुकी एनेले केही खुकुलो बनाई पुरुषहरूले पनि चाहेमा सम्वन्ध विच्छेद गर्न पाउने भएपछि अहिले महिला भन्दा पुरुषहरू नै बढि आउन थालेको उनको भनाई छ ।

जिल्ला अदालत धादिङमा विगतको तुलनामा मुद्दाको संख्या बढ्दै जाँदा फैसला संख्या पनि बढेको छ । मुद्दा बढेसंगै फैसा गर्ने दरपनि छिटो भएको र दुई वर्ष नाघेका कुनैपनि मुद्दा फैसला हुन बाँकी नरहेको जिल्ला अदालत धादिङले जनाएको छ ।

आर्थिक वर्ष २०७४।७५ मा १ हजार ७० थान मुद्दा रहेकोमा ७ सय ८९ थान मुद्दा फैसला भयो भने ०७३।७४ मा ८ सय ६० थानमुद्दा मध्ये ४ सय २७ थान मुद्दा फैसला भएको छ । ०७२।७३ मा ८ सय ८७ थान मुद्दा मध्ये ६ सय ३ थान, ०७१।७२ मा ६ सय ५८ थानमध्ये ४ सय मुद्दाको फैसला भएको हो । मुद्दाको संख्या बढ्दै गएपनि अदालतमा समेत मुद्दा व्यवस्थापनको लागि चाप बढेको छ ।

आर्थिक वर्ष ०७४।७५ मा ६ सय २९ मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १ सय २५ प्रतिशत बढी अर्थात ७ सय ८९ थान मुद्दा फैसला गर्न सफल भएको स्रेस्तेदार  काफ्लेले बताए ।

अदालतमा भएका मुद्दामध्ये ६० प्रतिशत फैसला गर्ने लक्ष्यभएपनि ७४ प्रतिशत मुद्दा फैसला भइ लक्ष्यको तुलनामा बढी मुद्दा फैसला भएको हो । यस आर्थिक वर्षमा मुद्दा परेको दिनमा समेत बालविवाहको मुद्दा फैसला भएको थियो । फैसला भएका मुद्दामध्ये अदालतमा दर्ता भएको छ महिनाको अबधीमा अधिकांस मुद्दा फैसला भएको र निरन्तर सुनुवाइले गर्दा पनि छिटो न्याय दिइएको काफ्लेले जानकारी दिए ।

गत वर्षको तुलनामा जिल्ला अदालतमा लगत रहेका मुद्दामध्ये ०७३।७४ मा ४९ दशमलब ६५ प्रतिशत फैसला भएकोमा यस वर्ष अदालतको मुद्दाको लगत अनुसार ७४ प्रतिशत मुद्दा फैसला भएको हो ।