गल्छी । लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला गाँजा रहित गाउँबस्ती बनाउने अभियान अन्तर्गत धादिङ प्रहरीले गाउँ गाउँमा पुगेर गाँजाखेती नष्ट गर्न थालेकोे छ ।
बैरेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले असोज १८ गते बिहीवार गल्छी गाउँपालिकाको वडा नम्बर ७ पलाङखर्कमा १२सय गाँजाका बोट नष्ट गरेको हो ।
समाजमा आपराधिक घटना बढिरहनुमा गाँजा एउटा प्रमुख कारण हो,चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागूऔषधकै कारण बढिरहेको प्रहरी अनुमान छ । लागुऔषधका रुपमा लिइने गाँजाखेती धादिङको महाभारत क्षेत्रमा किसानहरुले परम्परागत खेतीका रुपमा लगाउँदै आएका छन्।बढी नाफा हुने भएकोले प्रहरीको पहुँच नपुग्ने स्थानमा गाँजा लगाए पनि सुराकीका अधारमा प्रहरीले त्यस्ता गाँजाखेती नष्ट गर्दै आइरहेको छ। अवैध रुपमा लगाइने गाँजा नष्ट गर्नुका साथै प्रहरीले चेतनमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आए पनि यसको खेती गर्ने क्षेत्रमा र यस उत्पादन गरिने परिमाणमा कमी आउनुका सट्टा वृद्धि हुँदै गएको छ।