झुक्याएर अनुदान लिनेलाई कारवाही हुन्छ– ज्ञवाली

1273 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,११ माघ- भुकम्प पिडितको नाममा दोहोरो सुविधा लिने र फर्जि बिबरण दिएर सुविधा लिनेहरुको पहिचान गर्न स्थानीय तह संग मिलेर समस्या समाधनको पहल भईरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वताएका छन् ।
प्राधिकरण तथा कुनै पनि सरकारी निकाय संग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पिडितहरुको पहिचानमा ढिलाई भईरहेकोले स्थानीय तहलाई त्यस्ता व्यक्तिको बिबरण पठाई दिन आग्रह गरिएको र सार्वजनिक सूचना पनि प्रकाशित भईरहेको ज्ञवालीले वताए ।
भुकम्प गएको यत्तिका समय भईसक्दा पनि पिडितहरुको आवासका साथै बिद्यालय,स्वास्थ्य चौकी लगायतको निर्माणमा ढिलाई भईरहेकाले समस्या समाधानका लागि प्राधिकरणले सवै पक्षसंग छलफल गरिरहेको पनि ज्ञवालीले जानकारी दिए । प्राविधिक पक्षबाट भएको ढिलाई अन्त्य गर्न अव प्रत्येक स्थानीय तहको मातहतमा रहने गरी छुट्टै प्राविधिक इकाई वनाएर स्थानीय तहमा प्राविधिकहरु खटाईने तयारी भईरहेको पनि ज्ञवालीले वताएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईले शुक्रवार धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आयोजना गरेको निजी आवास पुननिर्माण कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरु बिषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्तो वताएका हुन ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्राधिकरणका सह सचिव प्रकाश थापा, धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे,जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख नवराज खतिवडा कोषनाथ अधिकारी, अनुदान व्यवस्थापन इकाईका प्रमुख राजेन्द्र केसी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहमा कार्यरत प्राधिकरणका इन्जिनियरहरुको सहभागिता रहेको थियो । भोगोलिक विकटता, सूचना प्रविधिको पहुँचमा कमि जस्ता कारणले समयमै प्रतिवेदन तथा फोटो पठाउन नसकिएको इन्जिनियरहरुको गुनासो थियो ।