यसकारण गलत र आपत्तिजनक हो पशुपति शर्माकाे गीत

1570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पत्रकार भएँ भन्दैमा मनपरी लेख्न पाइँदैन । फूटबल खेलाडिले बाटोमा मानिसहरुलाई लात्ताले हान्दै हिँड्न मिल्छ ? गायक भएँ भन्दैमा तथानाम गाली गरेको गीत गाउन मिल्छ ? मिल्दैन ।

गायक पशुपति शर्माले आमाचकारी गाली गरेको गीत बजारमा ल्याएछन् । उनले राष्ट्रपति संस्थालाई मनपरी आरोप लगाएका छन् । उनले राजनीतिक दलको कार्यकर्तालाई कुकुर भनेका छन् र देशमा यमराजको शासन रहेको भनेका छन् ।

‘डेढ अर्वको हेलिकप्टर चढ्छन् राष्ट्रपति, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्दै राष्ट्रपति संस्थालाई हुँदै नभएको आरोप लगाएका छन् । पशुपतिले गीतमा राष्ट्रपति डेढ अर्वको हेलिकोप्टर चढ्छिन् भनेर आरोप लगाएका छन् । केही समय अघि यस्तो आरोप सामाजिक संजालमा सुनियोजित रुपमा लगाइएको थियो । यो आरोपमा सत्यको अंश अलिकति पनि छैन । यो असत्य हो भन्ने प्रमाणित भइसकेको छ ।

राष्ट्रपतिले डेढ अर्वको हेलिकोप्टर चढ्छिन् नै भने पनि त्यो उनको निजी सम्पत्ति होइन देशको सम्पत्ति हो । पदबाट हटेपछि राष्ट्रपतिले निजी बनाउन मिल्दैन । नयाँ राष्ट्रपति जो आउँछ उसले प्रयोग गर्छ । मुख्य कुरा के रहेको छ भने हेलिकोप्टर सम्वन्धी आरोप राष्ट्रपति संस्थालाई वदनाम गराउने उद्देश्यले लगाइएको हो र समाजमा घृणा फैलाउन लगाइएको हो । यस्तो असत्य आरोप समातेर पशुपति शर्माले गीत बनाएका हुनाले उनको गीत गलत छ ।

‘कार्यकर्ता केही बोल्दैनन् कुकुर जस्तै भुक्छन्’ भनी पशुपतिले गीतमा भनेका छन् । उनको गीत सत्तापक्षको विरोधमा भएको हुनाले सत्तापक्षका कार्यकर्ताहरुलाई कुकुर भनेको हो भनेर गीतमा प्रष्टसँग बुझिन्छ । सत्तापक्षका होउन् या कुनै पनि राजनीतिक दलका कार्यकर्ता होउन्, उनीहरुलाई कुकुर भनेर गाली गर्न हुँदैन । यस्तो गाली गर्नु दण्डनीय अपराध हो ।

यो अशोभनीय गीतको विरोध भएपछि पशुपतिले आफ्नो गीत युट्युबबाट हटाएका छन् । गीत हटाए पनि उनले गीत संगीतमाथि बलात्कार गरिसकेका छन्, उनले संगीतको नाममा अपराध गरिसकेका छन् । भविष्यमा उनले तथा अन्य संगीतकर्मीहरुले यस्तो जघन्य कार्य नगरुन् भनी मैले यस लेखमा चर्चा गरेको छु ।

पशुपतिको गीतले समाजमा निरासा र घृणा फैलाउन खोजेको छ । आदर्शको बाटो छाड्नु भन्छ पशुपतिको गीतले । गीतसंगीत तथा साहित्यले समाजमा सकारात्मक वातावरण बनाउनुपर्छ, नकारात्मक बातावरण बनाउन हुँदैन । बढाई चढाई कुरा गरेर गीतलाई हिट बनाउन खोज्नु कलाकारिताको धर्म विपरितको कार्य हो । गीतको उद्देश्य नै घृणा फैलाउने, भ्रम फैलाउने, असत्य कुरा फैलाउने देखिन्छ । त्यसैले पशुपतिको गीत गलत छ ।

किन यसो गरे पशुपतिले

यस्तो अशोभनीय र घृणित शब्दहरुले भरिपूर्ण गीत पशुपतिले सार्वजनिक गर्नुको कारण के हो भन्ने पक्षमा विचार गर्नुपर्ने देखिएको छ । पशुपतिले गीतलाई हिट बनाएर पैसा कमाउनकै लागि यस्ता घृणित हर्कत गरेका हुन् भन्ने देखिन्छ । गीत जति धेरै हिट भयो त्यति धेरै गायकले पैसा कमाउँछ युट्युव फेसबुक लगायतको सामाजिक संजालबाट । त्यसैगरी स्टेज शो गर्न जाँदा पनि गायकले धेरै रकम पाउँछ । यही कारण जसरी पनि गीत हिट बनाएर पैसा कमाउने र आफूलाई चर्चित बनाउने रोगबाट हाम्रा गायकगायिकाहरु ग्रस्त हुन थालेका छन् । पशुपतिलाई पनि जसरी भएपनि हिट भएर कमाउने रोग लागेको देखिन्छ ।

पशुपति राम्रा गायक हुन् तर उनको द्रव्यमोह चर्काे देखियो । नकारात्मक सन्देश दिने स्तरहीन शब्दहरु भरेर गीत बनाउनुको कारण द्रव्यमोह नै हो । जसरी पनि चर्चित भएर पैसा कमाउन खोज्ने हर्कत पशुपतिले विगतमा पनि गरिसकेका छन् । उनले ‘मेरो छोराले कमिनी ल्यायो, मेरो छोरी नि दमैसँग गई’ भन्ने गीत ल्याएका थिए । सकारात्मक सन्देश दिने उद्देश्यले गीत बनाएको भने पनि गीतको उद्देश्य जसरी भए पनि हिट हुने र कमाउने थियो ।

त्यो गीत सार्वजनिक हुनु अघि नै उनले गीतको शब्द सार्वजनिक गरेका थिए र कमिनी र दमै शब्दमा विवाद निस्क्योस् भन्ने चाहेका थिए । आपत्तिजनक शब्दहरु राखेपछि आपत्ति निश्चय पनि आउँछ । त्यसपछि दलित सेवा संघले ती आपत्तिजनक शब्दहरुमा आपत्ति जनाउँदै विरोध गर्यो । पशुपतिले यही चाहेका थिए । विरोध भएको कारणले गीत हिट भयो । पशुपतिले राम्रैसँग पैसा कमाए ।

जसरी भए पनि गीतलाई हिट बनाउन पशुपतिले गलत हर्कतहरु गर्दै आइरहेका छन् र अहिले पनि त्यस्तै कार्य गरे ।

नकारात्मक नबनौं

चर्चित हुन क्षमता र प्रतिभा देखाउँ । पशुपतिभन्दा कैयन गुना लोकप्रिय गायक गायिकाहरु नेपालमा छन् । गीतसंगीत भनेको आराधनाको विषय हो । गीतसंगीत भनेको गम्भीर विषय हो, यसलाई हलुका बनाउनु हुँदैन । अरुलाई गाली गर्न र बेइज्जत गर्न तथा नकारात्मक बातावरण सिर्जना गर्न गीत बनाउनु भनेको संगीतको दुरुपयोग हो ।

हाम्रो समाजमा नकारात्मक भावना बढाउन धेरै मानिसहरु सुनियोजित रुपमा लागिपरेको देखिन्छ । पशुपति शर्मापनि उनीहरु जस्तै सुनियोजित रुपमा नकारात्मक विचार फैलाउने कार्यमा लागे ।

पशुपतिले गीत हटाएर सच्याउने बताएका छन् । यो राम्रो कुरा हो । आगामी दिनमा उनले गलत हर्कत गरेर गीत हिट बनाउने तथा चर्चित हुने कार्य नगरेकै राम्रो हो । पशुपतिले गरेका यो नकारात्मक कार्यबाट सबैले पाठ सिक्न जरुरी छ ।

 – सनराइज खबर डट कमबाट