मोटरसाईकल चोरी गर्ने तीन जना धादिङमा पक्राउ

2362 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१० चैत – देशका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संलग्न रहँदै आएका ३ जनालाई पक्राउ गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित धादिङ प्रहरीले आईतबार सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का २८ बर्षका किप्पा तामाङ, सोही ठाउँका २५ बर्षका संजय लामा र धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ५ का २० बर्षिय घनवहादुर गुरुङ रहेका छन ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार पत्रकार सम्मेलन गरी उनिहरुले चोरी गरेको मोटरसाईकल सहित सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार चोरीको मोटरसाईकल सहित चोरी कार्यमा संग्लन तीन जनालाई सार्वजनिक गर्दै
तस्बिर :  केशव अधिकारी / धादिङ न्यूज

चैत ९ गते धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ५ का प्रभात अर्यालको आफ्न घरको आँगनबाट हराएको बा ७२ प ९५९८ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल खोजी गर्नेक्रममा खानीखोला प्रहरीले सोही वडाको लामिछानेटोलमा चावी तोडेर लुकाईराखेको अवस्थामा बा ९० प ३३६० नम्बरको यामाहा आर १५ र बा ८५ प ११६९ नम्बरको २०० सिसिको पल्सर एनएस मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
लुकाईराखेको मोटरसाईकल पछि प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिको खोजी गर्दा तीन जना पक्राउ परेको र उनिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा वा ८५ प ११६९ नम्बरको मोटरसाईकल नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ४ का रुपेश बुढाथोकीको रहेको सो मोटरसाईकल चैत ८ गते काठमाण्डौं गोंगबुबाट चोरी भएको खुल्न आएको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनु भयो ।
पक्राउ परेका व्यक्तिहरु लामो समय देखि मोटरसाईकल चोरी गरी बिक्री गर्ने कार्यमा संग्लन रहँदै आएको र उनिहरुको समूहमा अरु पनि संलग्न रहेको अनुसन्धानबाट खुल्न आएकाले ति व्यक्तिको खोजीका लागि बिशेष अभियान शुरु गरिसकिएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले वताउनु भयो ।
पक्राउ परेका तीनै जनालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न आईतबार धादिङ जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।