केउरिनीकोे पक्की पुल हावाहुरीले ढाल्यो कि अनियमितताले ?

2034 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- हावाहुरीका कारण निर्माणाधिन अवस्थामा रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ र धादिङको गल्छी गाउँपालिका वडा नं १ फोस्रेटार जोड्ने त्रिशुलीनदी माथीको पक्की पुल भत्किएको छ । मोटर चल्ने पक्कि पुल त्यो पनि बनाउँदा बनाउँदै हावाहुरीका कारण भत्किएको भन्दा धेरैले नपत्याउन पनि सक्छन् । विश्वास नलागेपनि यस्तै अपत्यारिलो घट्नाले केउरिनी फोस्रेटार पक्कि पुल निर्माणमा भईरहेको ढिलाई प्रति शंका उव्जाएको छ ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट पुरानो सदरमुकाम सुनौलाबजार हुंदै खाल्टे,फोस्रेटार भएर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका जोड्ने गरी त्रिशूली नदीमा बनिरहेको पक्की पुलको ढलान गर्न तयार पारिएको फर्मा सोमबार साँझ आएको हावाहुरीले भत्काइदिए पछि पुलको निर्माणमा भएको ढिलाई र निर्माणको जिम्मा लिने कम्पनी माथि सर्वसाधरणले शंका गरेका हुन ।
निर्माण कार्य शुरु भएको ५ वर्ष भईसक्दा पनि पुलको निर्माण कार्य आधा पनि सम्पन्न भएको छैन । पुल निर्माणमा चरम अनियमितता भएको जनगुनासो आईरहेको बेला नुवाकोटका नेपाली कांग्रेसका नेता समेत रहेका सांसद बहादुरसिंह लामाको कम्पनी समेतले ठेक्का पाएको यो पुल हावाहुरीले भत्काईदिएको छ । पुल निर्माणको जिम्मा सांसद लामाको हिम्दुङ एण्ड थोकर कम्पनी, सपना र नागार्जुन कन्सट्रक्सन जेभीले पाएको छ । लामा लगायतले राजनीतिक पहुँचको आडमा ठेक्का पुरा गर्नुपर्ने समय गुजारेर गुणस्तरहिन काम गरेको कारण पुल निर्माणकै क्रममा भत्कन पुगेको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीले त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काएको बताएपनि ठेकेदारको चरम हेलचक्राइले भत्किएको स्थानीयले बताएका छन । ५ वर्षअघि देखि निर्माण सुरु गरिएको उक्त पुलको निर्माण कार्य आधापनि सकिएको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरि निर्माण सम्पन्न गर्ने मिति थप गरिएको थियो । अहिले उक्त समय समेत सकिन लागेको छ । २०७४ आषाढ मसान्तसम्ममा बनाइसक्नुपर्ने सम्झौता भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७५ चैत्र मसान्तसम्म तोकिएको थियो ।
पाँच बर्ष देखि बनाउन थालिएको पुलको जम्मा १ सय मिटर मात्रै ढलान भएको छ भने अर्को १ सय मिटर ढलान गर्ने तयारी गर्ने क्रममा हावाहुरीले भत्काइदिएको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए । ढलान गर्ने तयारी अवस्थामा राखिएको फ्रेम सवै भत्काइदिएपछि ५० लाख हाराहारीमा क्षति भएको पाण्डेको दावी छ ।
पुलको कुल लागत १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैया रहेको छ भने पुल १९२ मिटर लामो हुनेछ । निर्माण गरिसक्नुपर्ने अवधी सकिनै लाग्दा हावाहुरीले पुल भत्काइदिएपछि पुल निर्माण गर्ने समय अझै लम्बिने सम्भावना पनि बढेर गएको छ ।