कोरियन रेडक्रसको सहयोगमा गल्छीमा बन्यो पाँचवटा बिद्यालय भवन

741 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी– कोरियन रेडक्रसको सहयोगमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर १,२ र ३ साविकको कल्लेरी गाविसमा पाँच बिद्यालयमा खानेपानी र अपाङ्गमैत्री शौचालय सहितको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । यसै क्रमा गल्छी गाउँपालिका वडा नम्बर २ बसेरीमा रहेको भक्तबच्छला आधारभूत बिद्यालयको नयाँ भवनको चैत १४ गते हस्तान्तरण गरिएको छ ।
भुकम्पले बिद्यालय भवन भत्किएपछि अस्थायी टहरामा कष्टका साथ पठन पाठन गराउँदै आएकोमा बिद्यालयमा नयाँ भवनको निर्माण भएपछि सजिलो भएको बिद्यालयका प्रधानाध्यापक ठमवहादुर मगरले वताउनु भयो ।
विहिवार बिद्यालयमा कार्यक्रमको आयोजना गरि बिद्यालय हस्तान्तरण गरिएको हो । कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत निर्माण गरेको भवन गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले बिद्यालयलाई हस्तान्तरण गर्नु भएको हो । बिद्यालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रहनु भएका तिमिल्सिना स्थानीय तहको निर्वाचन अघि यसै बिद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । तिमिल्सिना प्रधानाध्यापक भएकै बेला नयाँ भवन निर्माणका लागि रेडक्रस संग सम्झौता भएको थियो ।
कुल लागत ६४ लाख ८ हजार ५ सय ३७ रुपैयाँको लागतमा बिद्यालयको चार कोठे भवन निर्माण गरिनुका साथै फर्निचर, बिद्युत्त जडान, च्यानल गेट, शौचालयको निर्माणका साथै खेलकुद सामाग्रीको समेत व्यवस्था गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति सीताराम कोईरालाको अध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रममा कोरियन रेडक्रसका प्रतिनिधि,शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठ, गल्छी गाउँपालिका शिक्षा शाखाका रामजी गौतम, छिमेकी बिद्यालयका प्रधानाध्यपाकहरु, वडाबाट निर्वाचित जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका साथै स्थानीयवासिन्दाको सहभागिता रहेको थियो ।
कोरियन रेडक्रसको सहयोगमा गल्छी गाउँपालिकाको वडा नम्बर १ को जालपादेवी आधारभूत बिद्यालय, २ नम्बर वडामा रहेको धर्मद्धार आधारभूत बिद्यालय र कल्लेरी माविको भवन निर्माण सम्पन्न गरी बिद्यालयलाई हस्तान्तरण गरिसकेको छ भने ३ नम्बर वडाको शिवालय आधारभूत बिद्यालयको निर्माण कार्य सम्पन्न भईसकेको र केहि दिनमै हस्तानन्तरण गरिने रेडक्रसले जनाएको छ ।

बिद्यालय भवन संगै गल्छी गाउँपालिका वडा नम्बर ३ पोखरीचौरमा कल्लेरी सामुदायिक भवनको पनि निर्माण गरिएको छ । दुई कोठा,सभाहल, शौचालय सहितको सामुदायिक भवनको निर्माण कार्य कुल ३१ लाख ३८ हजार ९ सय ३९ रुपैयाँ ९९ पैसाको लागतमा सम्पन्न भएको रेडक्रसले जनाएको छ । यस अघि कल्लेरी स्वास्थ्य चौकी र कर्मचारी आवास भवन निर्माण गरी हस्तान्तरण गरिसकिएको पनि धादिङ रेडक्रसले जनाएको छ ।