खनियाबासको विभिन्न स्थानबाट १६ थान अबैध भरुवा वन्दुक प्रहरीलाई बुझाईयो

1476 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२२ चैत – धादिङको खनियाबास गाउँपालिकाको विभिन्न स्थानबाट एकै पटक १६ थान अबैध वन्दुक प्रहरीलाई बुझाईएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रवार पत्रकार सम्मेलन गरी अवैध बन्दुक सार्वजनिक गरेको हो । नेपाल सरकारले गएको फागुन २१ गतेको निर्णयबाट देशभर अबैध हातहतियार र खरखजाना प्रहरी प्रशासन समक्ष बुझाउन दिएको निर्देशन अनुसार खनियाबास गाउँपालिकामा ठूलो मात्रामा भरुवा वन्दुक प्रहरीलाई बुझाईएको हो ।
खनियाबास गाउँपालिकाको विभिन्न स्थानमा अबैध रुपमा वन्दुक राखिएको सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा गाउँलेहरुले १६ थान भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन । खनियावास गाउँपालिकाको वडा नम्बर एक बाट सात थान, वडा नम्बर दुई बाट ४ थान, वडा नम्बर ३ मा एक थान, वडा नम्बर ४ मा दुई थान र पाँच नम्बर वडाबाट दुई थान अबैध वन्दुक प्रहरीलाई बुझाईएको हो । साविकको दार्खा, झार्लाङ र सत्यदेवी गाविसलाई समेटेर खनियबास गाउँपालिका बनेको हो । विगतमा यस क्षेत्रमा पटक पटक अबैध हतियारका कारण मान्छेको ज्यान समेत जाने गरेको थियो ।
सरकारले सार्वजनिक सूचना जारी गरी अबैध हातहतियार तत्काल प्रहरी प्रशासनलाई बुझाउन निर्देशन दिएपछि यहाँका गाँउलेले आंफुसंग भएको भरुवा वन्दुक प्रहरीलाई बुझाएका हुन । अबैध हातहतियार नियन्त्रणका बिषयमा जनचेतना जगाउन चैत २० गते धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी उपरिक्षक राजकुमार वैदवार, अनुसन्धान कार्यालयका उपनिर्देशक सुदिप अधिकारी, सशस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक दर्शन गिरी लगायतको सुरक्षा अधिकारीको टोलीले गाउँमै पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेर अबैध हातहतियार बुझाउन आग्रह गरे लगत्तै गाउँलेले हतियार बुझाएका हुन ।
सरकारले दिएको अवधि भित्र आफ्नो घरमा रहेको अबैध हातहतियार बुझाउनेलाई प्रहरीले कुनै कारवाही नगर्ने तोकिएको मिति भन्दा पछि भेटेमा हातहतियार तथा खरखजना मुद्धामा कानून वमोजिम कारवाही गर्ने धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेले वताउनुभयो ।
फोटो पनि छ ।