धादिङमा ४६ नाल बन्दुक प्रहरीमा बुझाईयो

1828 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ, २ बैशाख – जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार ४६ थान भरुवा वन्दुक सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले गत चैत १ गते ईजाजत नभएका अबैध हतियारहरु ३५ दिन भित्र सुरक्षा निकायलाई बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । कानुन बमोजिम लिनु पर्ने ईजाजत नलिई वा ईजाजत पत्र नबिकरण नगराई तथा ब्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई नेपाल राज्य भित्र हात हतियार खर खजाना राखेको भए प्रहरी वा सेनाको ब्यारेकमा बुझाउन स्थानीय प्रशासनले सबैमा सूचित गरेको थियो ।
गृह मन्त्रालयको चैत १ को सूचना अनुसार ईजाजत नभएका, नबिकरण नभएका र ब्यक्तिको हकवालाको नाममा नामसारी नगराई राखीएका हात हतियाार खरखजाना ३५ दिन भित्र बुझाउन सर्बसाधारणको नाममा सूचना जारी गरेपछि धादिङ जिल्लामा पनि गाउँ गाउँबाट अबैध भरुवा बन्दुक प्रहरीलाई बुझाईएको हो ।
सार्वजनिक सूचना जारी भएको मिति देखि २०७६ बैशाख २ गते विहान सम्ममा धादिङ जिल्लाका विभिन्न स्थानबाट ४६ नाल भरुवा बन्दुक प्रहरीमा बुझाईएको धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए । प्रहरी प्रशासनको आग्रहपछि बिशेष गरी उत्तरी धादिङको रुवीभ्याली, खनियावास र गंगाजमुना गाउँपालिकाबाट ४६ नाल भरुवा वन्दुक प्रहरीमा बुझाईएको हो । प्रहरी उपरिक्षक बैदवारका अनुसार प्रहरी चौकी सेर्तुङ इलाका प्रहरी कार्यालय दार्खा,अस्थायी प्रहरी पोष्ट डुन्डुरे, गंगाजमुना वडा कार्यालयमा अबैध भरुवा वन्दुक बुझाईएको हो । प्रहरीलाई बुझाईएको मध्ये १६ नाल बन्दुक चैत १२ गतेनै जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । ३० नाल बन्दुक जिल्लाका विभिन्न स्थानबाट संकलन गरि बैशाख २ गते सार्वजनिक गरिएको हो ।
तोकिएको समय भित्र हात हतियार खरखजाना बुझाएमा यस अघि ति अबैध हतियार राखेको आरोपमा कुनै कारबाही नहुने तर तोकीएको समयमा अबैध हतियार नबुझाउनेलाई प्रचलीत कानुन अनुसार कारबाही हुने धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले वताए । बिप्लव समुहको गतिबिधि बढन थाले पछि गृहले सबै जिल्लामा अबैध हतियार बुझाउन परिपत्र गरेको हो । जिल्लामा अबैध हतियार रहेको आशँका गरिए पनि त्यस्ता हतियार भने बुझाउनेको सँख्या निकै कमी भएको बुझिएको छ । तत्कालीन माओबादी जनयुद्धको समय र राजा ज्ञानेन्द्रको शासनकालमा पनि गाउँ गाउँबाट अबैध हतियार संकलन गरिएको थियो ।