वालवालिकालाई शैक्षिक सामाग्री र पोशाक दिएर भर्ना अभियान शुरु

1211 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे–‘हाम्रो नगर हाम्रो गाउँ ,सबै बालबालिकालाई बिद्यालय पुर्र्याऔ’ भन्ने नाराका साथ यस बर्षको बिद्यालय भर्ना तथा स्वागत कार्यक्रम सोमबारबाट देशैभरी शुरु भएको छ ।
धादिङ जिल्लाको थांक्रेमा बिद्यालय भर्ना अभियान मजदुरका बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरी शुरुवात भएको छ । थांक्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको यति टायल एण्ड ब्रिक उद्योगका प्रमुख उद्योगी सुयोग श्रेष्ठको अध्यक्षतामा भएको शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण कार्यक्रम थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
थांक्रे गाउँपालिकाको महांकालेश्वरी माबि, जनकल्याण आवि र भुवनेश्वरी माविमा अध्ययनरत ईट्टा उद्योगमा कार्यरत मजदुरका ६८ जना बालबालिकालाई बिद्यालय भर्ना गरि थांक्रे गाउँपालिकामा भर्ना अभियान शुरु गरिएको हो । भर्ना संगै कापि ,कलम,बिद्यालय पोशाक गरि प्रति बालबालिका १ हजार ५ सय बराबरको सहयोग गरिएको प्रयास नेपालका कार्यक्रम संयोजक प्रदिप श्रेष्ठले जानकारी दिनु भयो । बिद्यालय भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष आचार्यले बालमैत्री वातावरणमा पढाउन शिक्षकहरु तयार हुनुपर्ने र नियमित बिद्यालय पठाई बालबालिकालाई बिद्यालयमा टिकाउ गर्न अभिभावकको प्रतिवद्धता आवश्यक रहेको बताउनु भयाु । भर्ना गरेर मात्र अभियान सफल नहुने भएकाले बिद्यालमा वालवालिकाको नियमित उपस्थिती अनिवार्य भएकाले सबै सरोकारवालाले सहयोग र सहकार्य गर्नु पर्ने अध्यक्ष आचार्यको भनाई थियो ।
भर्ना अभियानमा कुनै पनि बालबालिका नछुट्ने गरि कार्य गर्न बिद्यालय व्यवस्थापन समिति र शिक्षकहरुलाई अपिल गर्दै अध्यक्ष आचार्यले कोहि पनि बालबालिका शैक्षिक सामाग्री तथा पोशाक किन्न नसकेर बिद्यालय बाहिर हुनु हुँदैन यदि यस्तो छ भने बिद्यालयले गाउँपालिकामा खबर गरि सहयोग लिन सकिने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएकोले यो कुनै एक दिन गरिने कार्य भन्दानि संस्थागत पद्धति भएको वताउनु भयो । बिद्यार्थीलाई नियमित बिद्यालय आउने वाताबरण बाउनु सबै सरोकारवालाको भुमिका हुने हुनाले ग्लोबल फेयरनेश ईनिसेटिभ सँगको सहकार्यमा ईट्टा उद्योगमा काम गर्ने मजदुरको बालबालिकालाई शैक्षिक बिकासमा सहयोग गरिएको अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा ग्लोबल फेयरनेश ईनिसेटिभका समिता भण्डारी ,थाक्रे गाउँपालिका शिक्षा शाखाका अधिकृत दुर्गाप्रसाद सिलवाल,वडा नम्बर ८ का अध्यक्ष केशवप्रसाद प्याकुरेल ,गुडउईबका अनुसन्धान प्रमुख डाक्टर नारायण घिमिरेले शिक्षाको महत्व र बालबालिकालाई सहयोगका बिषयमा भनाइ राखेका सामाजिक परिचालक कवि थापामगरले जानकारी दिनु भयो ।