नेकपा धादिङको अध्यक्षमा भूमी त्रिपाठी, सचिवमा शालिकराम जमकट्टेल

1824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा एकै साथ पार्टीको नेतृत्व टुंगाएको छ । पार्टी एकता भएको ११ महिना पछि आईतबार नेकपा स्थापना दिवसको अवसर पारेर नेकपाले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।सोमवार घोषणा भएको सूची अनुसार नेकपा धादिङको अध्यक्षमा भुमीप्रसाद त्रिपाठी र सचिवमा शालिकराम जमकट्टेल चयन हुनु भएको छ । आइतबार सम्पन्न पार्टी सचिवालय बैठकले ७७ जिल्ला कमिटीमध्ये तत्कालिन एमालेलाई धादिङ लगायत ४४ जिल्लामा पार्टीको नेतृत्व दिइएको छ भने तत्कालिन माओवादीलाई नुवाकोट लगायत ३३ जिल्लामा पार्टीको नेतृत्व दिएर भागबन्डा मिलाइएको छ ।
नयाँ सहमति अनुसार तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ भने तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ । पूर्व माओवादीले अध्यक्ष पाएका ३३ जिल्लामा तत्कालिन एमालेका अध्यक्षहरु अब सचिवमा घटुवा भएका छन । यसरी घटुवा हुनेमा प्रभावशाली सांसद तथा नेता समेत छन् । संसदको कानुन समितिका सभापति समेत रहेका कृष्णभक्त पोखरेल चितवनको सचिवमा घटुवा भएका छन् । ३ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री माओवादी पार्टीका पुर्व केन्द्रिय सदस्य शालिकराम जमकट्टेल जिल्ला कमिटकिो सचिवमा आएका छन । अन्य जिल्लाका तत्कालिन एमालेका अधिकांश अध्यक्षहरु अहिले संघीय तथा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख छन् ।

 धादिङमा यसअघि तत्कालीन एमालेले अध्यक्षमा नेत्रराज पौडेलको नाम सिफारिस गरेको थियो। जुन नामबिरुद्ध एमालेका पूर्व अध्यक्ष गुरुप्रसाद वुर्लाकोटीको अगुवाईमा पार्टी विधि विधान विपरित निर्णय भएको केन्द्रमा निवेदन दिएका थिए। यसरी निवेदन दिने पक्ष माधव नेपाल समूहका हुन ।  पार्टीका पुर्व पदाधिकारीहरुको निर्णयको विरोध गर्दै अर्को समूहले तत्कालिन नेकपा एमालेका सचिव शिवराज कँडेललाई अध्यक्ष बनाउनु पर्ने भन्दै पार्टी केन्द्रिय कमिटीमा दवाव दिएका थिए । नेत्रराज पौडेललाई अध्यक्ष बनाउने निर्णयको पक्षमा पार्टी केन्द्रिय सदस्य एवम सांसद खेम लोहनी, सांसद भूमि त्रिपाठी, ३ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल लगायतको समर्थन रहेको थियो ।
शिवराज कँडेललाई अध्यक्ष बनाउनु पर्छ भन्ने समूहको अगुवाई पुर्व सभासद गुरुप्रसाद वुर्लाकोटी, प्रदेश सभाका सांसद रहनु भएका पार्टी पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे, अर्का पोलिटव्युरो सदस्य गंगालाल तुलाधर लगायतको समर्थन रहेको थियो । पुर्व पदाधिकारी बैठकको निर्णयलाई अवज्ञा गर्दै आएको अर्को समूहले पालिका स्तरीय कमिटि गठनका लागि छुट्टै कार्यदल वनाएर नाम सिफारि समेत गरेको छ । यति मात्रै होइन उक्त समूहले जिल्लामा समानान्तर कमिटी गठन गर्न सक्ने चेतावनी समेत दिंदै आएको थियो ।पार्टी केन्द्रिय कमिटीको निर्णय पछि धादिङको नेकपा कसरी अघि बढ्छ भन्नेमा धेरैको चासो रहेको छ ।
को हुन भूमीप्रसाद त्रिपाठी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष भूमी त्रिपाठी धादिङ क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन । दुई वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनुअघि त्रिपाठी साविकको नेकपा एमाले धादिङ जिल्ला कमिटिको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालिन पार्टी अध्यक्ष खेम लोहनी नेकपा एमालेको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएपछि त्रिपाठीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको थियो ।
गजुरीको आदर्श माध्यमिक विद्यालयबाट २०३६ सालमा अनेरास्वियूको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा शुरु गरेका त्रिपाठी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियूमै बाटै नेपाल ल क्याम्पसमा स्ववियू सचिव समेत हुनुभएको थियो ।२०५४ मा नेकपा एमाले विभाजन भएपछि त्रिपाठी धादिङ फर्केर सक्रिय राजनीतिमा लाग्नु भएको हो । २०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनु भएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला कमिटीको कार्यवाहक अध्यक्ष हुनु भएको थियो ।धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखु ( रिचोकटार)मा जन्मनु भएका त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक सम्मको अध्ययन पुरा गर्नु भएको छ ।
तीन दशक देखि कम्युनिष्ट राजनीतिमा सक्रिए त्रिपाठीले २०७४ सालको आम निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गराउनु भएको थियो । वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनु भएको थियो । हठी स्वभावका त्रिपाठी स्पष्ट वक्ताका रुपमा चिनिनुहुन्छ ।


को हुन शालिकराम जमकट्टेल
पार्टी एकता हुनुअघि सम्म नेकपा माओवादी केन्द्र धादिङको अध्यक्ष रहनु भएका जमकट्टेल नेपाल कम्युनिष्ट पार्टी( नेकपा)को जिल्ला सचिव पदमा चयन हुनु भएको छ ।  जमकट्टेल ३ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री हुनुहुन्छ । वाम गठवन्धनको तर्फबाट धादिङ क्षेत्र नम्बर १ ख बाट प्रदेश सभा सदस्यमा विजयी हुनु भएका जमकट्टेलले नेपाली काँग्रेसका शिव सुवेदीलाई पराजित गर्नु भएको थियो । २०६४ सालमा एकिकृत नेकपा माओवादीको तर्फबाट धादिङ ३ बाट संविधान सभा सदस्य पदमा विजयी हुनु भएको थियो । २०७० सालको संविधान सभा निर्वाचनमा भने जमकट्टेल पराजित भई २०६४ मा उहाँबाटै पराजित हुनुभएका एमालेका नेता राजेन्द्र पाण्डे संविधान सभा सदस्यमा विजयी हुनु भएको थियो । जमकट्टेल माओवादीको मजदूर सङ्गठन (अखिल नेपाल ट्रेड युनियन महासंघ) को अध्यक्ष समेत हुनुहुन्छ ।
ओमकुमारी र लोकनाथका छोरा जमकट्टेलको जन्म धादिङ जिल्लाको गजुरी गाउँपालिकामा पर्ने किरान्चोकको डाँडागाउँमा २०३० साल भदौ ४ गते जन्मनु भएको हो । जमकट्टेल कानुनमा स्नातक हुनुहुन्छ ।२०४३ साल देखि नै विद्यार्थी राजनीतिमा सक्रिय जमकट्टेल २०४७ देखि औद्योगिक क्षेत्रमा मजदुरी गर्दागर्दै राजनीतिमा थप सक्रिय हुनुभएको हो। २०५२ सालमा जनयुद्ध थालनीसँगै भूमिगत हुनु भएका जमकट्टेल २०५५ सालमा माओवादीको जिल्ला समितिका सदस्य र २०५५ सालमा नै औद्योगिक मजदुर संघको अध्यक्ष पनि हुनु भएको थियो।२०५८ सालमा माओवादीको क्षेत्रीय ब्युरो सदस्य र ट्रेड युनियनको कोषाध्यक्षमा चुनिनुभएका जमकट्टेल २०६० साल देखि नै माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनीयन महासंघका अध्यक्ष हुनुहुन्छ। पटकपटक गरेर ४ वर्ष जेलजिवन पनि बिताउनु भएको छ ।