नेपालमा प्रतिदिन सरदर १४ जनाद्वारा आत्महत्या

2064 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बढिरहेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा हरेक दिन १४ जनाले आत्महत्या गर्छन् । गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय ३१ जनाले आत्महत्या गरेको तथ्यांक छ । प्रहरीका अनुसार नेपालमा पासो लगाएर र विष सेवन गरेर आत्महत्या गर्नेको सङ्ख्या धेरै छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् । विश्वमा हरेक ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ । ७९ प्रतिशत आत्महत्या निम्न आय भएका देशमा भएको पाइन्छ । यही तथ्यका आधारमा आत्महत्याको प्रमुख कारण कमजोर आर्थिक अवस्थालाई मानिएको छ ।
डिप्रेसनस् आत्महत्याको मुख्य कारण
व्यक्ति डिप्रेसनको अवस्थामा पुगेपछि मृत्युसँग नजिक हुन्छ । कमजोर आत्मबल भएका व्यक्तिले ससानो समस्यालाई ठूलै समस्याका रूपमा लिइदिँदा आत्महत्या गर्ने निर्णयमा पुग्ने मनोविद् पदमराज जोशी बताउँछन् ।
हिंसा, पारिवारिक झगडा र आर्थिक अभावले मानिस डिप्रेसनमा जान्छ । डिप्रेसन हुँदै जाँदा आत्महत्याको रूप लिन्छ । अकस्मात् ठूलो चोटपटक लाग्नु र परिवारमा ठूलो दुर्घटना हुनुले व्यक्ति डिप्रेसनको सिकार हुन्छ । त्यस्तै, मानसिक दबाब, निराशा, चिन्ताले पनि मानिस डिपे्रसनको सिकार हुन्छ । र, आत्महत्याको अवस्थासम्म पुग्ने मनोविद् जोशी बताउँछन् ।
डिप्रेसनपछि मानिसमा खानपिनमा ध्यान नदिने, टोलाउने, एकान्त मन प¥याउने, खुसी हुन नसक्ने जस्ता क्रियाकलाप विकास हुन थाल्छ । यी आत्महत्याको पूर्वसंकेत हो । डिप्रेसन भएको व्यक्तिले एकैचोटि आत्महत्या गर्दैन । धेरै कुरा सोच्ने र आत्महत्याको योजना बनाउँदै केही समयपछि आत्महत्या गर्छ ।
आत्महत्यासँग किन डराउँदैनन् मानिसहरू ?
हरेक व्यक्ति मृत्युसँग डराउँछन् । झन् आफ्नै मृत्युलाई सम्झनु कहालीलाग्दो हुन्छ । तर पनि मानिसहरू किन आफ्नै हत्या गरिरहन्छन् त ?‘पटक–पटकको असफलता, वैवाहिक सम्बन्धमा उतारचढाव, आवेग, न्यून आर्थिक अवस्था, अधुरो प्रेम, एक्लोपन र दीर्घरोगी भएपछि मानिसहरू आत्महत्यासँग डराउँदैनन् । उनीहरूलाई सधंै जिन्दगीसँग गुनासो रहन्छ र उनीहरूको विकल्प नै मृत्यु बन्न जान्छ,’ जोशीले भने ।
आत्महत्याको जोखिममा को छन् ?
आत्महत्या गर्नेहरू हरेक उमेर समूहका व्यक्ति हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार न्यून आय भएका मुलुकमा आत्महत्याको समस्या जटिल हुने देखिएको छ । कमजोर आर्थिक अवस्था भएका, वैवाहिक सम्बन्ध टुटेकाहरू, दीर्घ रोगीहरू अपहेलना सहन नसकी आत्महत्या गर्न पुग्छन् । इन्टरनेटको सहज पहुँचले पनि विद्यार्थीहरू प्रेम र यौनजन्य क्रियाकलापमा संलग्न हुन थालेका छन् । इन्टरनेटमार्फत अपरिचित साथीसँग नजिकिने र चिनेका साथीसँग छिट्टै प्रेममा पर्ने र प्रेम सम्बन्धमा उतारचढाव आएपछि आवेगमा आएर आत्महत्यासम्म पुग्छन् ।
आत्महत्या प्रयास गर्नेहरूका सङ्केत
मानिस आत्महत्याको सोच बनाउँछ भने उसमा केही न केही संकेतहरू अवश्य देखिने मनोविद्हरूको भनाइ छ । व्यक्तिले आत्महत्याबारे कुराकानी गर्नु, मृत्युबारे सोचिरहनु, दुःखी भइरहेको मान्छे अचानक खुसी हुनु र मर्ने उपायबारे जानकारी राख्छ ।
आत्महत्याको प्रयासअगाडि व्यक्तिले कुनै न कुनै रूपमा कसै न कसैलाई यस्तो भाव व्यक्त गरेको हुन्छ त्यसैले यस्ता व्यवहार देखाउने मानिसलाई विशेष निगरानी गर्नुपर्छ । उचित परामर्श पाएमा अधिकांश आत्महत्या प्रयास रोक्न सकिने मनोविद्हरूको दाबी छ । कमजोर आत्मबल हुने व्यक्तिले प्रायः आत्महत्या गर्ने गर्दछन् ।
कसरी न्यूनीकरण गर्ने आत्महत्या ?
आत्महत्या गर्ने मानिसले विभिन्न संकेत दिइरहन्छ । आफ्नो जीवनसँग गुनासो गरिरहन्छ । यस्ता व्यवहार देखाउने मानिसलाई विशेष निगरानी गर्नुपर्छ । प्रायः व्यक्तिले योजना बनाएरै आत्महत्या गर्दछ । उसले आत्महत्या गर्ने विभिन्न संकेत दिइरहेको हुन्छ । आन्तरिक रूपमा आफूलाई नोक्सान गरिरहेको हुन्छ । आफ्नो जीवनसँग गुनासो गरिरहेको हुन्छ । त्यस्तो संकेतबारे शंका हुनासाथ उक्त व्यक्तिलाई परामर्श दिनुपर्दछ ।
मनोचिकित्सकहरूका अनुसार घर परिवारको सहयोग र साथ, परामर्श एवं उपचारबाट आत्महत्याको दर घटाउन सकिन्छ । मानिसहरूले आत्महत्याबारे केही संकेत दिन्छ भने उसलाई विभिन्न मानिससँग भेट गराउने, मनोरञ्जनात्मक गतिविधिमा सामेल गराउने र व्यस्त राख्न सकेमा आत्महत्याबाट जोगाउन सकिने मनोविद्हरू बताउँछन् ।