स्वास्थ्य संस्थाहरुसँग समन्वय गर्न स्वास्थ्य कार्यालय

2040 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २० बैशाख – जिल्लाका कुनै पनि स्थानीय तहमा महामारी फैलिएमा, स्वास्थ्य सम्वन्धि आपतकालिन अवस्थामा आएको खण्डमा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य कार्यालयले संघ तथा प्रदेश सरकार सँग तत्काल समन्वय गर्दै आवश्यक औषधि तथा उपकरण उपलव्ध गराउन सहयोग गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङ अब नयाँ संरचना अनुसार स्वास्थ्य कार्यालय धादिङको रुपमा संचालनमा आएको छ । साविकको जिल्ला स्वास्थ्य कार्यालयका अधिकांश कर्मचारी स्थानीय तहमा खटिएपछि जिल्लामा स्वास्थ्य सम्बन्धि बिषयमा समन्वय गर्न प्रदेश सरकारले स्वास्थ्य कार्यालयको स्थापना गरी संचालनमा ल्याएको हो ।
३ नम्बर प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरी स्वास्थ्य कार्यालय धादिङको स्थापना भएको हो । पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै स्थापना गरिएको कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित १४ कर्मचारीको दरबन्दी छ । स्वास्थ्य कार्यालयले जिल्ला अस्पताल दुई प्राथमिक स्वास्थ्य केन्द्रका साथै जिल्लाभरका स्थानीय तहका स्वास्थ्य संस्थाहरु संग समन्वय गर्नेछ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधि तथा उपकरणको अभाव हुन नदिन संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय तहसंग समन्वय गर्ने निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य अधिकृत बिष्णु रिजालले जानकारी दिनु भयो ।बिशेष खोप अभियान, दिवसहरु तथा स्वास्थ्य सम्वन्धि जनचेतनामूलक अभियानमा पनि स्वास्थ्य कार्यालयले सरोकारवालाहरु सँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने निमित्त कार्यालय प्रमुख रिजालले धादिङ न्यूजलाई वताउनु भयो ।
स्वास्थ्य कार्यालयले जिल्लाभरका सबै स्वास्थ्य संस्थाहरु सँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, आवश्यक औषधि उपलव्ध गराउने, आपतकालिनय अवस्थामा औषधि, उपकरण तथा स्वास्थ्यकर्मी खटाएर सहयोग गर्ने, स्वास्थ्य संस्थामा औषधि उपकरण भए नभएको जानकारी लिन स्थानीय तहमा रहेका स्वास्थ्य एकाइसँग समन्वयको काम समेत गर्ने कार्यालय प्रमुख रिजालले वताउनु भयो ।  धादिङ जिल्लामा अहिले प्रदेश तथा स्थानीय तहमा गरी जिल्ला अस्पताल १,प्राथमिक स्वास्थ्य केन्द्र २, स्वास्थ्य चौकी ४९, सामुदायिक स्वास्थ्य इकाई १८, गाउँघर क्लिनिक १७८, नगर स्वास्थ्य केन्द्र २, बर्थिङ सेन्टर ६७ र खोप क्लिनिक २२१ व्टा संचालनमा रहेका छन । सदरमुकाम धादिङबेसीमा रहेको जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा रहेको छ भने बाँकी स्वास्थ्य संस्था सम्वन्धित स्थानीय तहको मातहतमा संचालन भईरहेका छन ।