मध्यरातमा गाउँको सिंहदरवार फुटाएर सामान चोरी
1278 पटक पढिएको

गजुरी -धादिङको गजुरी गाउँपालिकाको कार्यालय फुटाएर रातीको समयमा सामान चोरी भएपछि सिंहदरवार भनिएको स्थानीय तह आंफै असुरक्षित देखिएको छ । बैशाख १९ गते राती करिब १२ बजे पछिको समयमा गजुरी गाउँ कार्यपालिकाको कार्यालयमा नचिनेको व्यक्तिहरुबाट कार्यालयको मुल ढोका तोडी सबै कार्यकक्षको ढोका फुटाई त्यहाँ रहेको दराज तथा टेबलको घर्राहरु समेत फुटाएर सामानहरु चोरी भएको गाउँपालिकाले जनाएको छ ।
रातीको समयमा कार्यालय प्रवेश गरेको समूहले ल्यापटप २ थान, मुभि क्यामेरा थान १, डिएसएलआर क्यामेरा १ थान, केहि थान हार्डडिक्सहरु समेत चोरी गरि लगेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेतले वताउनु भयो । गजुरी गाउँपालिकाले एक महिना अघि देखि संचालनमा ल्याएको गजुरी वजार व्यारेक नजिकैको नयाँ भवन फुटाएर चोरी भएको हो । पृथ्वीराजमार्गको छेवैमा रहेको कार्यालय नयाँ भवन भित्र प्रवेश गरी चोरी हुनेले गजुरी गाउँपालिका भित्र शान्ति सुरक्षाको अवस्था कमजोर रहेको संकेत देखाएको छ । बैशाख २० गते बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले घटनाको अनुसन्धान गरि स्थानिय सरकारको कार्यालय नै तोडफोड गरि चोरी गर्ने जस्तो कार्यमा संलग्न दोषी उपर कडा भन्दा कडा कारबाहि गर्न माग गरेको छ । गाउँको सिंहदरवार भनिएको गाउँपालिकाको कार्यालयमा भएको चोरीको घटनाले स्थानिय सरकारलाईनै चुनौती दिएको छ ।
गाउँकार्यपालिकाको बैठकले चोरीको घटनाको निन्दा गर्दै दोषि माथि कारवाही गर्न स्थानीय सुरक्षा निकायलाई आग्रह गरेको छ भने यस्ता गतिविधी प्रति संघीय सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउदै स्थानीय सरकारलाई सुरक्षाको प्रत्यभुति हुन सक्ने गरि सुरक्षा व्यवस्थापन गर्न अनुरोध गरेको छ । स्थानीय तहलाई गाउँको सिंहदरवार भनिएको छ । स्थानीय निर्वाचन अघि गाउँ गाउँमा सिंहदरवार भन्ने नारा लिएर दलहरु गाउँ पसेका कारण आमनागरिकको मुखमा अहिले गाउँ गाउँमा सिंहदरवार भन्ने निकै चल्तिमा आएको छ । सिंहदरवार भनिएको गाउँपालिकाको कार्यालय मध्यरातमा फुटाएर चोरी भएपछि गाउँवासीले सिंहदरवारनै असुरक्षित भएको महसुस गरेका छन ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२० बैशाख २०७६, शुक्रबार १५:३४ मा प्रकाशित