प्रदेश नं ३ का ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख निकासा

958 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौँडा, २४ वैशाख । एम्बुलेन्स, शववाहन, दमकल लगायतका आपतकालिन सवारी साधन खरिद गर्नका लागि प्रदेश नं ३ सरकारले प्रदेशका ४७ वटा स्थानीय तहमा १० करोड ५७ लाख रुपैयाँ निकासा गरेको छ । यसरी निकासा भएको रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गरिने भएको छ । प्रदेश सरकार मन्त्री परिषदको २०७६ बैशाख ८ गतेको निर्णय अनुसार ६ वटा दमकल,३७ वटा एम्बुलेन्स र ७ वटा शववाहन खरिद गर्न लागि सो रकम निकास भएको हो । जस अनुसार धादिङको धुनिबेसी नगरपालिकाले दमकल, थांक्रे र वेनिघाट रोराङले एम्बुलेन्स खरिद गर्न अनुमति पाएका छन ।

छिमेकी जिल्ला नुवाकोटको ९ वटा स्थानीय तहले आपतकालिन सवारी साधन खरिदको अनुमति पाएका छन जस्मा विदुर नगरपालिकामा दमकल, बेलकोट गढी नगरपालिका, किस्पाङ,तादी, तारकेश्वर,दुप्चेश्वर, पञ्चकन्या,मेघाङ र सूर्यगढी गाउँपालिकामा एम्बुलेन्स, चितवनको खैरहनी नगरपालिकमा दमकल,राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा एम्बुलेन्स, रसु्वाको उत्तरगया र नौकुण्ड गाउँपालिकामा एम्बुलेन्स खरिद गरिने जनाईएको छ ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत निकासा भएको सो रकम बाट प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शव वाहन खरीद गर्ने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले वताउनु भयो । मन्त्री ढुङ्गेलका अनुसार आपतकालिन सवारी साधन खरिदका लागि अनुमति प्राप्त गरेका स्थानीय तहका लागि रकम निकासा भएको हो ।सवारी साधन खरीदका लागि स्थानीय तहहरुमा १० करोड ५७ लाख निकासा गरिएको र खरीद प्रक्रियासमेत शुरु भएको मन्त्री ढुंगेलले जानकारी दिनुभयो । प्रदेश ३ का ११९ वटै स्थानीय तहलाई सेवा मुलक सवारी खरीद गर्नका लागि प्रस्ताव आह्वान गरिएकोमा ४७ वटा स्थानीय तहको मात्र प्रस्ताव स्वीकृत भएको थियो ।