उपत्यकाभित्र जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी

899 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी बजेटमा राख्नका लागि यस्तो सुझाव पेस गरेको हो ।

‘हरेक साता तराईमा लाग्ने पशु मेला र हाटबजारबाट खरिद गरिएका राँगाभैंसी भोकभोकै रातारात राजधानी ढुवानी गरिँदै आएको छ ।’ अव्यवस्थित ढुवानी प्रक्रियाका कारण पशुको स्वास्थ्य, उत्पादन क्षमता र गुणस्तरीयतामा प्रतिकूल प्रभाव पारेको विज्ञहरूले बताउँदै आएका छन् । देशका विभिन्न भागबाट ट्रकमा राखेर दुई/तीन दिन लगाएर पशुहरू राजधानी लगिँदा अपनाइने विधि सडक ढुवानी मापदण्डविपरीत भएपछि यसको व्यवस्थापनका लागि सरकारले पहल सुरु गरेको झण्डै दुई दशक वर्ष भइसकेको छ । पशु सेवा विभागले पशुहरूको सडक तथा पैदल ढुवानी मापदण्ड लागू गरेर संशोधन गरेको पनि एक दशक पुरा भईसकेको भएपनि उक्त मापदण्ड कार्यान्वयन भने भएको छैन ।

हाल जिउँदा खसीबोका, राँगालगायत पशुपंक्षी ल्याउन नपाइने कुनै कानुन छैन । मालवाहक गाडीमा तोकिएको मापदण्डभन्दा धेरै पशु कोचाकोच गरेर राजधानी लैजाने गरिन्छ । एउटै गाडीमा ४० देखि ८० वटा राँगाभैंसी ढुवानी गरिँदै आएको छ ।