धादिङका दशवटा सडकमा ग्रामीण कृषि सडक सुधार कार्यक्रम

1871 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा धादिङ जिल्लाका १० वटा सहित प्रदेश भरीका सतासी वटा ग्रामीण कृषि सडकको सुधारका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको साझेदारीमा सो रकम विनियोजन गरेको हो ।

चालू आवको स्वीकृत बजेट बमोजिम कृषिसँग सम्बन्धित संघ, संस्थासँग सम्झौता गरी योजना कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा चार, थांक्रे गाउँपालिकामा दुई धुनिवेसी नगरपालिका, ज्वालामुखी,गल्छी र वेनिघाटरोराङमा एक एक वटा कृषि सडकको सु्धारका लागि योजना स्विकृत भएको हो ।

     मन्त्रालयको जानकारी अनुसार नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा ससाह, ओडारे, ढलेको बर हुँदै उज्यालो सहकारी सम्मको कृषि सडक, नीलकण्ठ १४ मा स्याउली अम्टारी अमबोटे छाप रिङ्गगाँउ जोर चौतारा राउटे चौतारा सडक,नीलकण्ठ ४ मा सिरान बजार पौवा रिजाल थोक मैदान फोश्रेटार कृषि सडक परेको छ । त्यसै गरी थांक्रेमा थांक्रे ११ र गल्छी ८ जोड्ने बालुवा फाँट, सजिवन घारी, गढी जोगिडाँडा चकमके कृषि सडक र पण्डित पौवा सुवेदी थोक चकमके सडक छनौटमा परेको छ ।

यसैगरी धुनिबेसी नगरपालिकामा मजुवा चिलाउने गाउँ भन्ज्याङ्ग पोखरी सडक,गल्छी गाउँपालिकामा केउरेनीटार वरभन्ज्याङ्ग कृषि सडक, वेनिघाट रोराङमा बरभन्ज्याङ बोमराङ जोड्ने सडक, ज्वालामुखी गाउँपालिकामा मुरली भन्ज्याङ्ग धौखोला ढोला कृषि सडक पनि छनौटमा परेको छ ।

ग्रामीण कृषि सडक सुधार कार्यक्रम अन्र्तगत नुवाकोटमा आठ, सिन्धुपाल्चोकमा आठ, चितवनमा १२, काभ्रेपलाञ्चोकमा ११, ललितपुर र भक्तपुरमा सात÷सात, दोलखामा छ, मकवानपुरमा ११, रामेछापमा छ, सिन्धुलीमा ११ तथा धादिङमा दश कृषि सडक सुधारका लागि योजना स्वीकृत भएको हो । मन्त्रालयका प्रवक्ता निर्मल गदालका अनुसार मन्त्रालयले ग्रामिण कृषि सडक सुधार गर्नुपर्ने स्थानको पहिचान गरी प्रस्तावना पेश गर्न कृषिसँग सम्बन्धित संस्थालाई जानकारी गराएको थियो ।  प्रदेशभरिका सतासी कृषि संस्था छनोट गरी काम गर्न सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

वर्षा याममा कृषि उपज सम्बन्धित बजार क्षेत्रमा पु¥याउन नसक्दा किसानको मेहनत खेर जाने भएकाले ग्रामिण कृषि सडकको विकासमा जोड दिइएको र प्रदेश नं ३ का १३ जिल्लामध्ये ११ जिल्लामा ग्रामीण कृषि सडकको विकासमा उक्त लगानी गरिएको हो ।

तस्बिर : शालिकराम दुवाडीबाट ( ढोलामा निर्माणाधिन ग्रामीण कृषि सडक सुधार कार्यक्रम सडक)