स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

1503 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ ।

मुलुक संघीय संरचनामा गएसँगै आयोगले संघीय संरचनाअनुरूपको पाठ्यक्रम बनाई लागू गरेको हो । आयोगले पहिले भएका पाठ्यक्रममा परिमार्जनसहितको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।
आयोगले स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि आवश्यकताअनुरूप यसअघि केन्द्रीय संरचनाअनुरूपको पाठ्यक्रम तयार पार्ने गरेकोमा हाल त्यसलाई परिमार्जन गरी विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पाठ्यक्रम तयार पारेको हो ।
आयोगले प्रत्येक पदका लागि अलगअलग पाठ्यक्रम रहेको जानकारी गराएको छ । आयोगले भोलि बुधबार ८ हजारभन्दा बढी नयाँ कर्मचारी भर्नाको तयारी खुलाउने गरी सोका लागि आवश्यक पाठ्यक्रम तयार पारेको हो ।
स्थानीय तहले १४ हजार ५ सय कर्मचारी आवश्यक रहेको विवरण पठाएको भएता पनि तत्काल ८ हजार बढीको संख्यामा भर्ना आह्वान गरिने र बाँकीको व्यवस्थापन क्रमशः बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पूर्ति गर्दै जाने योजना रहेको छ ।

कर्मचारी समायोजनपछि केन्द्र, प्रदेश र स्थानीय तहमा ३२ हजार कर्मचारी माग रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकले देखाउँछ । बाँकी भने प्रक्रियामा रहेको प्रदेश लोकसेवा आयोग गठन गरेर गरिने बताइएको छ ।